धरानः अपाङ्गता भएका ब्यक्तिहरुलाई रोजगार बनाउन स्थानीय उद्योगी व्यवसायीहरुसँग सहकार्य गर्ने प्रतिवद्धता धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र विक्रम वेघाले ब्यक्त गरेका छन् । धरान उपमहानगरपालिकाको रेकर्डमा रहेको अपाङ्गगता भएका व्यक्तिहरुलाई उनिहरुको योग्यता र क्षमताको आधारमा आवश्यक तालिम र सहयोग प्रदान गरेर रोजगार बनाउने कार्यमा आफुहरु लागि पर्ने उप प्रमुख वेघाले बताए । उद्योगी व्यवसायीहरुसँग अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारीको सम्भावना विषयक अन्तर - क्रियात्मक गोष्ठीमा प्रमुख अतिथि,  उप प्रमुख वेघाले उक्त कुरा बोलेका हुन् । 
असोज १० गते बुधबार, होटल गजुर प्यालेसमा द लेप्रेसी मिसन नेपालको नेतृत्व, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेश र सुनसरी उद्योग वाणिज्य संघको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

धरानका धेरै होटल तथा हस्तकला उद्योग र विद्यालयहरुमा दृष्टीविहिन तथा वहिरा जस्ता अपाङ्गता भएका व्यक्तिहरु रोजगारमा रहेको र आफुहरु अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजागार बनाउने अभियानमा लागि पर्ने उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । धरानमा अन्य क्षेत्रबाट लगानी भित्राई उद्योग तथा व्यवसाय संचालन गर्न स्थानीय सरकारले आवश्यक नीति र प्रोत्साहनका कार्यहरु संचालन गर्नुपर्ने कुरा श्रेष्ठले औल्याए । धरानका सचेत नागरिकहरुले धरानको वातावरण राम्रो बनाउनु आवश्यक पहल गर्नुपर्ने समते श्रेष्ठले अनुरोध गरेका थिए ।
IMG_20230927_121232
 
अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशील अवशर परियोजना (FOUND) ले अपाङ्गता भएका व्यक्तिहरुलाई  रोजगार र स्वरोजगारसँग जोडने कार्य गर्दै आएको कार्यक्रमका प्रवन्धक विपिन दासले बताए । अपाङ्गता भएका व्यक्तिहरुको लेखाजोखाका  आधारमा उद्यमी बन्न रुचि र सीप भएका हरुको लागि स्वरोजगार स्किम अन्तगत अपाङ्गता भएका ब्यक्तिहरूलाई विउ पूजी प्रदान गर्ने, कार्य स्थालमा तालिम दिने, सीप प्रदान गर्ने, सहायक सामग्री प्रदान गर्ने, उपयुक्त समायोजन जस्ता सहयोग र सेवा प्रदान गर्ने कार्य गर्दै आएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई संस्थाको पहलमा नेपालका ठूला ठूला उद्योग तथा व्यवसायहरुमा रोजागरीको व्यवस्था गरिएको उक्त संस्थाका क्लस्टर म्यानेजर विपिन दासले कार्यक्रममा विभिन्न तथ्याङ्ग समेत प्रस्तुत गरेका थिए ।
अपाङ्गता मैत्री समाज निर्माण गर्न र अपाङ्गता सुनिश्चित रोजागार अभियान भन्ने प्रकरणका साथ कार्यक्रम आयोजना गरिएको र अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिन धरानका उद्यागी व्यवसायीहरुलाई आयोजक संस्थाका  व्यवसाय विकास अधिकृत भरतप्रसाद दहालले जानकारी गराएका थिए । द ल्याप्रेसी मिसन नेपालले अपाङ्गता भएका व्यक्ति र सार्वसाधारणका लागि समेत सुविधा दिने गरी आनन्द वन अस्पताल समेत संचालन गर्दै आएको र नेपालको प्रमुख शहरहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिए ।  
IMG_20230927_121425
अन्तरक्रिया कार्यक्रमको क्रममा उद्योगी व्यवसायीहरु अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिन तयार रहेको हार्डवयर तथा कंकृट व्यवसायी नविन राजभण्डारीले जानकारी गराए । होटल व्यवसायी प्रमेश श्रेष्ठले आफ्नो होटलमा धेरै पहिला देखिनै आधा भन्दा बढी बहिरा कर्मचारी राखेको जानकारी गराउदै उनिहरुसँगको अनुभव पनि बताए । हस्तकला व्यवसायी श्यमकृष्ण श्रेष्ठले आफ्नो उद्योगमा  वहिरा कर्मचारी राखेर काम गरिरहेको र उनिहरु लगनशिल भएर काम गर्ने गरेको जानकारी गराए । धरानको शिक्षा निकेतन मा.वि.मा शिक्षकको रुपमा काम गरिरहेको दृष्टी बिहिन उमेश परियारले अपाङ्गता र राजगारीको सम्बन्धमा द ल्याप्रेसी मिसन नेपालले गरेको सहयोग सहित आफ्नो अनुभव व्यक्त गरे । सौन्दर्य कला ब्यवसायी नेविका  साहीले आफ्नो क्षेत्रमा पनि अपाङ्गता भएका ब्यक्तिहरु लाई राम्रो अवशर रहेको बताए । सुन चाँदी व्यवसायी  प्रदिप गहतराज र किसन मास्केले  सुनचाँदीको गरगहना बनाउने क्षेत्रमा काम दिन सकिने बताए। सुनसरी उद्योग वाणिज्य संघका सदस्य जयप्रकास सर्मा लगायतले आफ्नो बिचार र प्रतिक्रिया व्यक्त गरेका थिए। 

 वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले कस्ता कस्ता अपाङ्गता भएका व्यक्तिहरुले के कस्ता काम गर्न सक्छन् ? को को आफ्नो व्यवसायमा रोजगार दिन तयार छन् ? उनिहरुको आवश्यकता अनुसारको अपाङ्गता भएका व्यक्तिलाई तालिम दिनुपर्ने सुझाव राखेका थिए । 
सपाङ्ग व्यक्तिहरू स्थायी नहुने, नियमित काममा नआउने, वैदेशिक रोजगार जाने, काममा भन्दापनि अन्य कुरामा बढी ध्यान दिने जस्ता समस्याहरू आउने भएकाले सपाङ्गलाई भन्दा अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिनु उपयुक्त हुने कुरामा रोजगारदाताहरु सहमत भएका थिए । 
कार्यक्रम संयाेजक तथा सुनसरी उद्योग वाणिज्य संघका सदस्य विष्णु वरालले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिने विषयमा उद्योगी व्यवसायीहरुले विशेष प्राथमिकता दिनुपर्ने अनुरोध गर्दै यस सम्बन्धी काम गर्ने संघ संस्थाहरुले स्थानीय सरकार र निजि क्षेत्रलाई घच्घच्याईरहन अनुरोध गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।  

कार्यक्रममा सुनसरी उद्योग बाणिज्य संघका पदाधिकारी, बस्तुगत संघसंस्थाका प्रतिनिधिहरु, पूर्व अध्यक्षहरु,  होटल व्यवसाय, औद्योगिक क्षेत्रमा धरानका उद्योगीहरु, साना व्यवसाय, संचारक्रर्मी लगायत ७५ जनाका उपस्थिति रहेका थियो । कार्यक्रम संचालन सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले गरेका थिए।