इटहरीः विश्व पर्यटन दिवसको  अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा गैँडा पुष्पा र अञ्जलीलाई बुधबार कोशी टप्पु वन्यजन्तु आरक्षमा क्षेत्रलाई हस्तान्तरण गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट छुट्टाछुट्टै खोरमा राखेर ल्याइएको गैँडा सोमबार कोशी टप्पुसम्म पुग्दा टप्पुका कर्मचारीसँगै नेपाली सेना र स्थानीयले बुधबार स्वागत समारोहका बीच भित्र्याएका हुन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षको पश्चिमी क्षेत्र सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित पथरीबाट क्षेत्रमा पुगेपछि काठले बनाएको खोर खोलेर गैँडालाई छाडिएको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका प्रमुख वार्डन रमेश यादवले जानकारी दिए ।

यसैबीच, विश्व पर्यटन दिवस–२०२३को अवसर पारेर वन्यजन्तु उद्धार केन्द्र तथा एकसिङ्गे गैँडा स्वागत कार्यक्रमलाई उद्घाटन गर्दै नेपाल सरकारको वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोले आरक्ष क्षेत्र नजिक रहेका नागरिक र क्षति न्यूनीकरणका लागि नेपाल सरकारले आउने दिनमा बिमा गरेर हुन्छ कि जनावरबाट हुने क्षति कम गर्ने विभिन्न उपायहरू अपनाउने बताए।

परिवार बढाउन अहिले पुष्पाञ्जलीलाई यहाँ ल्याइएको हो भने केही दिनमै विरु अर्थात् एउटा भाले गैँडा ल्याएर उनीहरूको सुन्दर र बृहत् परिवार विकास गर्नका लागि मन्त्रालयले आवश्यक पहल गर्ने मन्त्री महतोले बताए ।

कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि वासस्थान उपयुक्त देखिएपछि गैँडा छाडिएको हो ।  विभागका तत्कालीन उपमहानिर्देशक तथा गैँडा विज्ञ वेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको प्रमुख वार्डन यादवले बताए।

प्रमुख यादवका अनुसार राष्ट्रिय निकुञ्जबाट उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी टप्पु क्षेत्रमा ल्याई छाडिएको हो । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । अहिले पुष्पा करिब ४ वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन् । गैँडा हस्तान्तरण समारोहमा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र मन्त्रालयका निमित्त सचिव जगनाथ प्रसाद जयसवालसहितको उपस्थिति रहेको थियो ।