काठमाण्डौंः हाङझाव एसियाडको जुडोमा नेपालको यात्रा मंगलबार समाप्त भएको छ । उक्त दिन २ खेलाडीको पराजयसंगै जुडोको व्यक्तिगत स्पर्धामा नेपालको यात्रा टुंगिएको हो । मिक्स टिममा भने नेपालले बुधबार जापान विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई प्रिक्वाटरफाइनलमा काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।

महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासंग इप्पोनकै आधारमा हारिन् । प्रिक्वाटरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिकिन् ।

जुडोमा नेपालबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए । महिलामा मनीता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो । सहभागी मध्ये विकासले मात्र एक ‘बाउट’ जिते । उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए ।

तेक्वान्दोः 

हाङझाव एसियाडको चौथो दिन मंगलबार ३ नेपाली तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरे ।

लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनी अन्तिम ३२ को खेल जितेपनि अन्तिम १६ मा पराजित भए । उनले टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका   थिए ।

nepal's amrit thapa magar, squash.

प्रिक्वाटरफाइनलमा भने उनी थाइल्यान्ड बानलुङ टुबतिम्दाङसँग २–० ले पराजित भए ।

यसैगरी मंगलबारै भएको महिला ५३ केजीमुनीको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित भइन् ।

महिला ५७ केजी मुनी अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २–० ले पराजित भइन् । यसअघि नै तेक्वान्दोका चार खेलाडी बाहिरिसकेका छन् ।

पौडीः  अनुशिया २५ औं स्थानमा

हाङझाव एसियाडको पौडीतर्फ महिला १०० मिटर फ्रिस्टायलमा नेपालकी अनुशिया तण्डुकार समग्रमा २५ औं स्थानमा रहिन् । २९ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त स्पर्धामा अनुशियाले मंगोलिया, युएइ, लाओस र टिमोर लिस्टेका खेलाडीलाई पछि पारिन् ।

एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको पहिलो हिटमा अनुशियाले निर्धारित दूरी १ मिनेट ०३.१७ सेकेन्डमा पूरा गरिन् । अनुशिया हिट चरणबाटै बाहिरिन् । हङकङ चाइना, चीन र फिलिपिन्सका खेलाडीले शीर्ष स्थान हात पारे ।

उसुः  दीपक र निमा पराजित

उसुमा नेपालका दुई प्रमुख खेलाडी दीपक हमाल र निमा घर्ती मगर मंगलबार पराजित भएका छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।

झिओसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३ औं स्थानमा रहे । उनले नान्छवानमा ९.६३३ तथा नान्गुनमा ९.५४६ गरी जम्मा १९.१७९ अंक जोडे । २० खेलाडी सहभागी थिए । इन्डोनेसियाका हरिस होराटियुसले स्वर्ण, दक्षिण कोरियाकी योङमुन लिले रजत र मकाउका जुन्हुवा हुवाङले कांस्य जिते ।

महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १० औं स्थानमा रहिन् । निमाले नान्छ्वानमा ९.१४० तथा नान्दाओमा ९.१४० सहित १८.७०३ अंक बटुलिन् ।

deepak hamal, wushu, 2

लनटेनिसः 

हाङझाव एसियाडअन्तर्गत लनटेनिसको मिक्स डबल्समा नेपालका प्रणव खनाल र सुनिरा थापाको जोडी मंगलबार पराजित भएका छन् ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको दोश्रो चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनिराको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।

स्क्वासः 

हाङझाव एसियाडअन्तर्गत चौथो दिन मंगलबार स्क्वासमा नेपाल पुरुष÷महिला दुवै टोली मंगलबार टिम स्पर्धामा पराजित भएको छ ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा सुरु भएको स्पर्धामा पुरुष÷महिलातर्फ दुई इभेन्टमा नेपाल पराजित भयो ।

पुरुषतर्फ समूह ए मा रहेको नेपाल कुवेत र पाकिस्तानसँग समान ३–० ले पराजित भयो ।

टिम इभेन्टमा नेपालका अमिर ब्लोन कुवेतका अली अल्रामेजीसँग ११–२, ११–३, ११–५ ले अमृत थापा मगर अब्दुल्लाह अल्मेजायनसँग ११–२, ११–२, ११–६ र अरहान्त केशर सिंह अम्मार अल्तामिनीसँग ११–३, ११–३, ११–५ ले पराजित भए ।

अर्को खेलमा अमिर पाकिस्तानका नासिर इक्बालसँग ११–२, ११–५, ११–२ ले अमृत असिम मुहमम्दसँग ११–३, ११–२, ११–५ ले र अरहान्त नुर जमनसँग ११–१, ११–८, ११–५ ले पराजित भए ।

यस्तै महिलातर्फ समूह बी मा रहेको नेपाल मलेसिया र मकाउ चाइनासँग ३–० कै नतिजामा पराजित भयो ।

महिलातर्फ नेपालकी स्वस्थानी श्रेष्ठ मलेसियाकी बिन्ती अज्मानस आइरासँग ११–३, ११–१, ११–६ ले विपना ब्लोन अज्मान आइफा बिन्तीसँग ११–२, ११–५, ११–६ र कृष्णा थापा राचेल माए अल्नोल्डसँग ११–४, ११–५, ११–४ ले पराजित भए ।

मकाउ विरुद्ध स्वस्थानी लेङ लाम लिएङसँग ११–६, ११–९, ११–४ ले विपना वेएङ चि युएङसँग ११–३, ११–४, ११–४ ले र कृष्णा वाइ लेङ युएङसँग ११–६, ११–५, ११–० ले पराजित भए ।

nima gharti magar, wushu 4

बक्सिङः 

हाङझाव एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित भएका छन् । पुरुष ५७ केजीको अन्तिम ३२ को खेलमा बुद्ध भियतनामा भान डुयोङ एनगुएनसँग अंकका आधारमा ४–० ले पराजित भए ।

रग्बीः 

एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल जितविहीन बनेको छ । रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो ।

मंगलबार भएको ९–१३ औं स्थान निर्धारणका लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो । हाङझाव नर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको अन्तिम खेलमा नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८–० अन्तरले पछि प¥यो । योसहित नेपालले खेलेको सबै ६ खेलमा हार व्यहो¥यो । ६ खेल खेल्दा नेपालले समूह चरणमा युएई विरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल ५५–७ ले पराजित भएको थियो । समूह डी मा नेपाल त्यसपछि चीनसँग ६५–० र अफगानिस्तानसँग ४१–० ले पराजित भयो ।

समूह चरणमा तीनवटै खेलमा पराजित नेपाल समूह चरणबाट बाहिरिएपछि ९ देखि १३ औं स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो । जसमा फिलिपिन्ससँग ५५–० र थाइल्यान्डसँग ३६–० ले पराजित भयो । रग्बीमा नेपालसहित १३ राष्ट्र सहभागी थिए । एसियाली खेलकुदको रग्बीमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।