काठमाडौंः चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तरगत बिभिन्न खेलमा भएको प्रतिष्पर्धामा नेपालका खेलाडीहरुले नतिजा निकाल्न सकेनन । सोमबारको तेक्वान्दोमा नेपालकी अञ्जली तामाङले मिश्रित प्रदर्शन गरेकी छन् ।

लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनि अन्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् । पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अन्जलीले दोश्रो राउन्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । प्रिक्वाटरफाइनलमा भने अन्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसंग चुकिन् । अन्जली १२–० र १०–० ले पछि परिन् ।

पुरुष ५८ केजीमुनि नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरबियाका नासिर अहमदी रियादसंग ४–१२ र २–० ले हारे । तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।

जुडो ः मनीता, जंग र पुनमको हार

जुडोमा सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए । नेपालका मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।

महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भए । पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए ।

rabin thapa, nepal, blue 4

बास्केटबल ः नेपाल जापानसंग पराजित

एसियाली खेलकुदको महिला यु–२३ थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ ले पराजित ग¥यो । नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान २–२ स्कोर गरे । नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् ।

समूह ‘बी’ मा चाइनिज ताइपेईं र काजाकिस्तान पनि छन् । नेपालले बुधबार काजाकिस्तानसंग तथा ताइपेईंसंग शुक्रबार प्रतिस्पर्धा गर्ने छ ।

साइक्लिङ ः सुरज र उषाले दूरी पूरा गरेनन्

एसियाली खेलकुदको साइक्लिङमा नेपालका सुरज राना मगर र उषा खनालले सोमबार निर्धारित दूरी तय गर्न असफल रहे । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए । योसंगै साइक्लिङमा नेपालको चुनौती समाप्ता भएको छ । टोली मंगलबार स्वदेश फर्किदै छ ।

पुरुषको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोश्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जनाएका छन् । ५ ल्यापको प्रतिस्पर्धामा सुरजसंगै फिलिपिन्सका २ तथा दक्षिण कोरिया र युएइका १–१ खेलाडीले पनि दूरा पार गर्न सकेनन् । चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले कांस्यमा चित्त बुझाए ।

महिलाको २०.५६ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्दै गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जानकारी गराए । झेसौ स्पोर्ट्स सेन्टरमा भएको ४ ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सकिनन् । यो स्पर्धामा पनि चीनका खेलाडीले स्वर्ण र रजत कब्जा गरे । इरानी खेलाडीले कांस्य हात पारे ।

उसु ः

एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको उसुको थाउलोअन्तर्गत महिला छाङछ्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । उनले ९.४१० अंक जोडिन् ।

थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे । उनले ९.०१३ अंक स्कोर गरे । अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८.९७३ अंक ल्याए ।

फेन्सिङ ः 

हाङझाव एसियाडको तेस्रो दिन सोमबार हाङझाव डायान्जी विश्वविद्यालय जिम्नाजियमा फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामा पायस योञ्जनले ५ वटै खेलमा पराजय ब्यहोरे । पायस काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग ५–० तथा उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले स्तब्ध बने ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन, दक्षिण कोरियाका सानगुक हो  र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित हुँदा उनको यात्रा समूह चरणबाट अघि   बढेन ।

महिला फोइल व्यक्गिततर्फ पनि मन्दिरा थापाको यात्रा पनि समूह चरणमै टुंगियो । उनी हङकङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङ्गसँग समान ५–०, मकाउकी हियो ल्याम कुसँग ५–१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५–३ ले निरास बनिन् ।

दक्षिण कोरियाकी सिना होङसँग ५–३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५–१, सिंगापुरकी म्याक्सिन वाङ्गसँग ५–४  र चीनकी  क्वइयानक्यान  हुआङ्गसँग ५–० ले स्तब्ध बन्दा  गोमा आर्चायको यात्रा पनि समूह चरणमै रोकियो ।