काठमाडौँः कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो ।अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट हुन अघि कप्तान आजमले उत्कृष्ट ब्याटिङको नमूना प्रदर्शन गर्दै १३१ बलमा १५१ रन बनाए । उनले यस क्रममा १४ चौका र ४ छक्का हिर्काए । कुनै पनि पाकिस्तानी कप्तानले घरेलु मैदानमा बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो । त्यस्तै इफ्तिकार अहमदले पनि शतकीय पारी खेले । उनले नटआउट रहँदै १०९ रन बनाए । उनले विस्फोटक ब्याटिङ गर्दै ११ चौका र ४ छक्का हिर्काए ।

नेपालले खेलमा सुरुवात भने राम्रो गरेको थियो । नेपालले दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो । फखर जमान १४ रन बनाएर करन केसीको शिकार बने भने इमाम उल हक ५ रन बनाएर रनआउट भए । 

त्यसपछि कप्तान बाबरले मोहमद रिजवानसँग मिलेर पाकिस्तानको पारी सम्हालेका थिए । रिजवान ४४ बनाएर रनआउट हुँदा टीमको स्कोर १११ रन रहेको थियो । लगत्तै आघा सलमान ५ रन बनाएर सन्दीप लामिछानेको बलमा आउट भए ।

त्यसपछि भने बाबर र इफ्तिकार अहमदले विस्फोट ब्याटिङको नमूना प्रस्तुत गर्दै नेपाली बलरलाई पिट्न सुरु गरेका थिए ।

नेपालका लागि सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए । ललित राजवंशीले विकेट लिन नसके पनि १० ओभर बलिङ गर्दै मात्र ४८ रन खर्चिए ।

एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु भएको छ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ ।

एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । 

नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन् । रातोपाटीबाट