काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।  उनी भुटानी शरणार्थीको रूपमा नेपालमा रहँदै आएका छन्  । 

काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले नेता रिजाललाई पक्राउ गरिएको पुष्टि गरे  । 

नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा नेता रिजालको पनि संलग्नता भएको आशङ्कामा प्रहरीले पक्राउ गरेको हो । 

नेता रिजाललाई झापाबाट पक्राउ गरेर काठमाडौं जिल्ला प्रहरी परिसरमा सोधपुछपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएकोमा अदालतले अनुसन्धानका लागि थप दुई दिनको समय थप गरेको छ । 

नक्कली भुटानी प्रकरणमा आर्थिक लेनदेनमा नेता रिजालको संलग्नता देखिएको भनाइ प्रहरीको छ ।