काठमाडौंः द नर्थ फेस एडभेन्चरले नेपाली अल्ट्रा धावक अर्जुन राई कुलुङलाई अनुबन्ध गरेको छ । 
बुधवार सोलुखुम्बु क्षेत्रका अर्जुन राई कुलुङलाई पहिलो नेपाली पुरुष खेलाडीको रुपमा नर्थ फेसले लिएको हो । आज नर्थ फेस र राईका बीचमा सम्झौता भएको छ । एसियाको अग्रणी व्यवसायिक साहसिक टोलीका खेलाडी राईले २०२३ मा हुने धेरै अन्तर्राष्ट्रिय कार्यक्रमहरूको लागि तयारी गर्ने छन् ।
सम्झौता पत्रमा हस्ताक्षर गरेपश्चात् राईले आफ्नो अन्तर्राष्ट्रिय क्षेत्रमा गएर खेल्ने सपना पूरा भएको प्रतिक्रिया दिएका छन् ।
राईले भने, ‘मेरो बाहिर गए्र खेल्ने सपना थियो त्यो सपना पुरा हुँदै छ ।त्यहाँ गएर मैले टप टेनसम्म केही गर्न सक्छु कि भन्ने आशा छ,धेरै खुसी लागिरहेको छ।’
नर्थ फेसका टोली निर्देशक तथा एपीए समूहका संस्थापक तथा निर्देशक श्री रेयान एस ब्लेयरले अर्जुनलाई भेट्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
“अन्ततः अर्जुनलाई व्यक्तिगत रूपमा भेट्न पाउँदा म अत्यन्तै उत्साहित छु ।किनभने नेपाली खेलाडीहरूले ट्रेल र हिमाली दौडमा उनीहरूको प्राकृतिक प्रतिभाको लागि अन्तर्राष्ट्रिय स्तरमा निकै कम समर्थन पाएको छ । मलाई लाग्छ अर्जुनले आफ्नो विश्वस्तरीय क्षमता स्थानीय रूपमा पहिले नै देखाइसकेका छन् र सही मेन्टरशिप, प्रायोजनमा उनले अझ अन्तर्राष्ट्रिय मञ्चमा धेरै उच्च स्तरमा पुग्न सक्छन् भन्ने आशा छ ।’’
अर्जुन राई कुलुङ सोलुखुम्बुको महाकुलुङ गाउँका हुन् । उनले नेपाली पदयात्रा र हिमालमा दौडने गर्दै आएका छन् ।
सन् २०१५ देखि ट्रेल दौडलाई विश्व एथलेटिक्स अनुशासनको एक अंगको रूपमा ग्रहण गरिएको छ । आगामी समयमा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलमा नेपालबाट सुनमाया र अर्जुनले प्रतिनिधित्व गर्नेछन् ।
यसअघि सुनमाया बुढालाई द नर्थ फेस एडभेन्चरले दुई वर्षको लागि टोलीमा आबद्ध गराईसकेको छ । उनले युटीएमबी विश्व च्याम्पियनसिप १०० किलोमिटर दौडमा सबैभन्दा छिटो डौडेर ऐतिहासिक दोस्रो छिटो डौडने रेकर्ड बनाइसकेकी छन् । उनको उक्त रेकर्ड एसियामा सबैभन्दा छिटो दौडनेमा एक नम्बरमा रेकर्ड भएको छ ।
 
                     
         
         
                            
                                                             
        




















 
         
         
         
         
         
         
        