काठमाडौंः  संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घंटनामा गम्भीर घाइते भएका स्थानीय भविन गुरुङको मृत्यु भएको हो । 

भोटखोला गाँउपालिका ४ दिदिङ्खामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका गम्भीर तीन जनालाई काठमाडौं ल्याइएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याउने क्रममा तुम्लिङटारमा मृत्यु भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाले जानकारी दिए । 

उनका अनुसार मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । 

दुर्घटनामा परी हेलिकप्टरका चालक क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका थिए । विक्रम शंकरको अवस्था नाजुक बनेपछि सिम्रिक एयरको अर्को हेलिकप्टरबाट उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । त्यस्तै क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको छ । 

शुक्रबार दिउँसो अपर अरुण जलविद्युत आयोजनाको सामान लिएर उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । 

हेलिकप्टर भोटखोला गाउँपालिका ५ को राप्साबाट उडेको थियो । उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थल सवारी साधन पुग्ने स्थान गोला बजारबाट २ घण्टाको पैदल दुरीमा पर्छ । घटनास्थलमा पुगेर स्थानीय, प्रहरी लगायतले घाइतेको उद्दार गरेका थिए ।