काठमाडौंः  संखुवासभाको भोटखोला गाँउपालिका ४ दिदिङ्खामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ  । 

दुर्घंटनामा परि घाइते भएका ५ जना २ को अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते पाइलट क्याप्टेन सुरेन्द्र पौडेल र अर्का घाइते भविन गुरुङलाई काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी विरेन्द्र गोदारले जानकारी दिएका छन् । 

पौडेललाई सिम्रिक एयर र गुरुङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको पनि उनले बताए ।

अन्य तीन जनाको अवस्था सामान्य रहेको छ । 

शुक्रबार दिउँसो अपर अरुण जलविद्युत आयोजनाको सामान लिएर उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । 

हेलिकप्टर भोटखोला गाउँपालिका ५ को राप्साबाट उडेको थियो । उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थल सवारी साधन पुग्ने स्थान गोला बजारबाट २ घण्टाको पैदल दुरीमा पर्छ । घटनास्थलमा पुगेर स्थानीय, प्रहरी लगायतले घाइतेको उद्दार गरेका हुन् ।