काठमाडौंः  शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ ।

 प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

   ब्वाइज÷गल्र्स सिंगल्स तथा टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले ७ हजार ५ सय तथा तेश्रोले ३÷३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

 डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

पत्रकार सम्मेलनमा सोफेसका अध्यक्ष महर्जन, स्वर्णिमका संस्थापक प्रिन्सिपल सहजी पन्त र कन्सेप्टका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

   स्वर्णिमका प्रिन्सिपल पन्तले विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउन शिक्षासंगै विद्यालयले खेलकुद र अत्तिरिक्त क्रियाकलापमा पनि उत्तिनै जोड दिएको बताए ।