काठमाडौंः सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकपछि, सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले खेलाडी तथा मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको जानकारी दिइन् ।

उनले भनिन् ‘ एसिया क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी  र मुख्य प्रशिक्षकलाई जनही छ लाख र टिम अफिसियललाई  जनही तीन लाख रुपैयाँका दरले रकम उपलब्ध गराएर प्रोत्साहन गर्ने भन्ने निर्णय भएको छ । ’

p1

फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

खेलकुद पुरस्कार कार्यविधिमा एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार दिने भएको हो । 

बैठकले आगामी आर्थिक वर्षको बजेटमा कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था गर्ने निर्णय पनि गरेको उनले बताइन् । नेपाल न्युज बैंक