काठमाडौंः उप–निर्वाचन बारा–२ जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव बिजयी भएका छन् । 

यादवले २८ हजार चार सय १५ मत ल्याएका छन् भने, उनको निटकतम प्रतिद्वन्दी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले २३ हजार तीन सय ३४ मत ल्याएका छन् । निटतम प्रतिद्वन्दी कुशवाह र  यादवको मतान्तर पाँच हजार ८१ को छ । यादव सत्तारुढ पाँच दलीय गठनवन्धको साझा उम्मेदवार थिए । 

त्यस्तै, एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार रमेशप्रसाद खरेलले भने दुई हजार आठ सय २९ मात्रै मत ल्याएका छन् । 

गत ४ मंसिरमा भएको निर्वाचनमा यदाव जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग झण्डै दोब्बर मतले हारेका थिए । बारा–२ का सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेको उक्त क्षेत्रमा १० बैशाखमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा जसपा अध्यक्ष यादव उम्मेदवार बनेका थिए । 

चितवन–२ मा भएको उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछाने र तनहुँ–१ मा रास्वपाकै उम्मेदवार स्वर्णीम वाग्ले बिजयी भइसकेका छन् ।