इटहरीः इटहरीको कला बजारमा अहिले कुनै साहित्यिक विषयको चर्चा छ भने कि ‘समुद्र साउती’को चर्चा छ कि ‘ईश्वरलाई चिठी’को चर्चा छ । समुद्र साउती कवि बद्री भिखारीको पछिल्लो कविता सङ्ग्रह हो जुन अहिले देशदौडाहामा छ । यही पुस १४ गते दमकमा सो कृतिमाथि चर्चा हुँदै छ ।
ईश्वरलाई चिठी चाहिँ इटहरीको सक्रिय नाट्य संस्था कलालयले ल्याएको पछिल्लो नाटक हो । जुन इटहरीको तायारिची भवनमा यही पुस १३, १४ र १५ गते दैनिक २ पटक मञ्चन हुने भएको छ । दिउँसो १ र अपराह्न ४ बजे प्रस्तुत हुने नाटकको निर्देशन प्रज्ज्वल पराजुली र परिकल्पनाकार सोनु जयन्ती रहेका छन् ।
नाटकलाई नाट्य स्वरूपमा ढाल्ने काम सुगम दुलालले गरेका हुन् । नाटकमा अनुजा पौडेल, जीवन बस्नेत, हिमाल निरौला, विकास श्रेष्ठ, विनय कोइराला लगायतका दर्जन बढी कलाकारको अभिनय छ । २०६६ सालमा स्कुल थिएटर गरेर छैटौँ संस्करणपछिको यो पहिलो नाटक हो । यसै परिप्रेक्ष्यमा रहेर नाटकका परिकल्पनाकार, कलालयका संस्थापक अध्यक्ष तथा प्रदेश १ का चर्चित युवा नाट्य निर्देशक सोनु जयन्तीसँग विराट अनुपमले गरेको कुराकानीको सारांशः
ईश्वरलाई चिठीको तयारी कस्तो हुँदैछ ?
तयारी राम्रोसँग भइरहेको छ । अहिले तर्पांइसँग कुराकानी गरिरहँदा पनि म तायारिची भवनमै मञ्चनको तयारीकै लागि व्यस्त छु ।
पछिल्लो समयमा तपाईंहरूले देखाएको नाटक ‘फुरफुर’ भन्दा यो पटक देखाउन लागिएको ‘ईश्वरलाई चिठी’ कत्ति फरक हुनेछ ?
यो नाटकमा हामीले धेरै मिहिनेत गरेका छौँ । साढे २ महिना त तयारीमै लाग्यौँ । निर्देशकदेखि कलाकारहरू सबैको यसमा धेरै मिहनेत छ । यस पटक हामीले नाटकको सेटमा धेरै ध्यान दिने कोशिस गरिरहेका छौँ ।
ईश्वरलाई चिठी कस्तो नाटक हो ?
यो नाटक सन् १९६६ मै स्वर्गारोहण भएका मेक्सिकन उपन्यासकार, कवि तथा पत्रकारको एउटा कथामा आधारित नाटक हो । यसलाई नाट्य रूपान्तरण गरेका हुन् सुगम दुलालले । एक साधारण मान्छे र ईश्वरसँगको सम्बन्ध अनि धरातलीय यथार्थ बोकेको छ यो नाटकको कथाले ।
तपाईं त नेपाली नाटकमा विदेशी कथा, विदेशी विम्ब र प्रत्यक्ष प्रभावको विरोधी मान्छे । अहिले आफैँ सक्रिय भएर देखाउन लाग्नुभएको नाटक भने विदेशी नै छ । यस्तो कसरी भयो ?
यो ‘थिम’ विदेशी हो । ‘थिम’ भन्दा पनि कथाको आधार विदेशी हो । तर, पात्र, परिवेश र धरातलीय यथार्थहरू भने सबै मौलिक छन् । यो चुरे फेदीको एक सामान्य कथामा बनेको नाटक हो । यसमा विदेशी गन्धको कुनै प्रभाव देखिँदैन । नाटक हेर्नेहरूले नै यो आफैँ महसुस गर्नुहुनेछ ।
नाटकमा तपाईंहरूले कुन वर्गका दर्शकहरू लक्षित गर्नुभएको छ ?
नाटकमा समाजका सामान्यदेखि विशिष्ट सबै खालका मान्छेहरूलाई लक्षित गरेर यो नाटक बनाइएको हो । नाटकमा बालबालिका, किशोरकिशोरी, युवा, प्रौढदेखि पाकाहरू सबैले मनोरञ्जन, सन्देश र सूचना दिने खालको कथावस्तु छ ।
इटहरीमा दैनिक २ शो त्यो पनि १ सय रुपैयाँको टिकटमा देखाउन खोज्दै हुनुहुन्छ । कत्तिको सफल होला ?
पछिल्ला अनुभवहरूले हामीलाई सफल हुने सङ्केतहरू आएका छन् । इटहरीमा कलालयको स्कुल थिएटर र अन्य नाट्य मञ्चन तथा कार्यक्रमहरूले नाटक हेर्ने माहोल तयार भएको छ ।
३ दिन दैनिक २ शोका दरले ६ वटा शो गर्नलाई हामीलाई समस्या हुन्छजस्तो लाग्दैन । नाटक, कला र साहित्य अनि सङ्गीत क्षेत्रमा इच्छा र आनन्द लिनेहरूले यो नाटक हेर्नुहुनेछ ।