विराटनगरः कोशी प्रदेशको राजधानी मोरङ्गको विराटनगरमा चैत्र ९ गते बुधबारदेखि विराट गोल्डकप आयोजना हुने भएको छ । 

आयोजक विराट गोल्डकप ट्रस्टले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । विराटनगरको सहिद रंगशालामा रात्रीकालिन समयमा आयोजना हुने खेलमा ८ वटा टिमको सहभागिता रहने र खेल नकआउट प्रविधिमा खेलाइने आयोजकले बताएको छ ।  

प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित २ विदेशी वटा क्लबहरुले पनि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालका तीन विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लब रहने छन् । भारतको केरलामा रहेको लुका सकर क्लब र ड्रुक लयुल फुटबल क्लब भुटानले सहभागिता जनाउने छ ।  

यस वर्षको उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । गत संस्करणको विजेता एपीएफले १५ लाख १५ हजार र उपविजेता पञ्जाव पुलिसले ७ लाख ५१ हजार प्राप्त गरेका थिए ।