खोटाङः  जिल्ला अस्पताल खोटाङमा आठ लाख रुपियाँभन्दा बढी रकम हिनामिना भएको पाइएको छ । प्रदेश सरकारले जिल्ला अस्पतालमा निःशुल्क गर्भवती जाँच कार्यक्रमका लागि पठाएको  बजेट कार्यक्रम नै नगरी सकिएको हो ।  

आर्थिक वर्ष २०७९र८० को साउन १ गतेबाट गर्भवती जाँच कार्यक्रमअन्तर्गत गर्भवतीको रगत परीक्षण र भिडियो एक्स–रेलगायतका आवश्यक स्वास्थ्य परीक्षण गराउन प्रदेश स्वास्थ्य मन्त्रालयबाट दस लाख आएको थियो तर अस्पतालले कार्यक्रम नचलाई उक्त बजेटको आठ लाख एक हजार २०१ रुपियाँ खर्च भइसकेको पाइएको हो। 

२०७९ जेठ १७ गतेबाट अस्पतालको आर्थिक जिम्मेवारी सम्हालेका ल्याब टेक्निसियन विमलकुमार देव र लेखापाल अर्जुन खवासको कार्यकालमा गर्भवती जाँच कार्यक्रममा आएको रकम हिनामिना भएको देखिएको छ। त्रुटिवश उक्त रकम अन्तै खर्च भएको तत्कालीन कार्यालय प्रमुख विमलकुमार देवको भनाइ छ। 

निःशुल्क गर्भवती जाँच कार्यक्रमको बजेट अन्तै खर्च भएको भन्दै नक्कली बिलसमेत तयार पारिएको छ। गर्भवती जाँचलाई आएको बजेटले बस्नेत सर्जिकल हाउसमा भ्याटसहित छ लाख नौ हजार ३०६ रुपियाँ र एमआरएस इन्टरप्राइजेजमा भ्याटसहित एक लाख ९१ हजार ८९५ रुपियाँको सामान खरिद गरेको देखिन्छ। फलाटिन कपडा, हरियो कपडा, थर्मोमिटर, शल्यक्रिया टावल, शल्यक्रिया ड्रेस, टर्च लाइट, कोड कटिङ कैची, सामान्य कैँची, लामखुट्टे झुल, बेड साइड स्क्रिन सेटलगायतका सामान खरिद गरेको बिलमा देखिन्छ। 

अनियमितता गरेको रहस्य वर्तमान कार्यालय प्रमुख दीपेश परियार आएपछि बाहिर आएको हो। अहिले शीर्षक गल्ती भएर रकम अन्तै गएको भन्दै एमआरएस इन्टरप्राइजेजबाट रकम फिर्ता ल्याउने तत्कालीन प्रमुख देवको भनाइ छ। 

प्रदेश स्वास्थ्य मन्त्रालयबाट निःशुल्क गर्भवती जाँच कार्यक्रमलाई बजेट आए पनि अस्पतालले कार्यक्रम नचलाउँदा साउन १ गतेबाट माघ मसान्तसम्म ३९२ जना गर्भवती महिलाले पैसा नै तिरेर रगत परीक्षण र भिडियो एक्स–रेलगायत स्वास्थ्य परीक्षण गराउन गराएका थिए। एक जना गर्भवतीले पहिलो जाँच गर्दा झन्डै दुई हजार खर्च हुने गरेको छ। निःशुल्क हुनु पर्ने सेवाबाट करिब आठ लाख उल्टै अस्पतालले उठाएको छ। बजेट आएर पनि गर्भवती जाँच कार्यक्रम नगरी बजेट खर्च भएको थाहा भएपछि फागुन १ गते अस्पताल सञ्चालन व्यवस्थापन समितिको बैठकले फागुन २ गतेबाट निःशुल्क गर्भवती जाँच कार्यक्रम सुरु गराएको छ। 

कार्यक्रमको लक्ष्य एकातिर बजेट खर्च भएको अर्कोतिर देखाउँदै अनियमितता भएको पाइएको हो। अस्पताल सञ्चालन व्यवस्थापन समितिको चैत १ गते बसेको बैठकले अस्पताल सञ्चालन व्यवस्थापन समिति सदस्य कुमार आचार्यको संयोजकत्वमा ज्ञानेन्द्र जोशी र उपिनकुमार राईसहित तीन सदस्यीय छानबिन समिति बनाएको छ। छानबिन समितिले एक महिनामा प्रतिवेदन बुझाउने खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।