काठमाडौंः तेश्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    खेलाडीहरुमा लालमोहर यादव, नागेश्वर थारु, प्रवीण खड्का, कुमार लामा, बन्धु राना, रामु टमाटा, घनश्याम रोक्का मगर, विनोद तामाङ, सविन बोहजु, सागर चौधरी, पशुपति शाह र सरमन प्रजापति रहेका छन् । प्रशिक्षकमा प्रकाशप्रसाद साह, व्यवस्थापकमा अरविन्दकुमार झा र निर्णायकमा तरुणकुमार यादव रहेका छन् ।

4 (3)

मार्च ११ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता रहने कबड्डी संघका महासचिव विनोद प्रजापतिले जनाएका छन् । महासचिव प्रजापतिका अनुसार नेपालसहित श्रीलंका, बंगलादेश, थाइल्यान्ड, मलेसिया, इराक, इन्डोनेसिया, चाइनिज ताइपेइ, अर्जेन्टिना, केन्या, पोल्यान्ड र बेलायत सहभागी हुने छन् ।

सोही अवसरमा इरानमा मार्च ५ तारिखमा सम्पन्न भएको दोश्रो जुनियर विश्व कबड्डी च्याम्पियनसिपमा कांस्य जित्न सफल पुरुष टोलीलाई सदस्य–सचिव घिसिङले बधाइ दिएका थिए । अध्यक्ष थापाले सदस्य–सचिव घिसिङलाई ट्रफी पनि हस्तान्तरण गरेकी थिइन् । उक्त प्रतियोगिताका दौरान भएको एसिायली कबड्डी महासंघको साधारण सभाबाट महासचिव प्रजापति ४ वर्षका लागि उपाध्यक्षमा निर्वाचित भएको जानकारी गराइएको थियो ।