इटहरीः राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहिबार आदेश जारी गरेको छ । 

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई उल्टाउँदै बिहीबार उच्च अदालत पाटनले सन्दीपलाई  रिहा गर्न आदेश दिएको हो ।

पाटन उच्च अदालतका  न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै  रिहा गर्न आदेश दिएको हो । सन्दिपलाई  २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने उच्च अदालत ले भनेको छ । 

गत भदौ २० गते सन्दिपलाई  एक किशोरीले बलात्कारको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा विदेशबाट क्रिकेट खेलेर आउने क्रममा विमानस्थलबाटै सन्दिप पक्राउ परेका थिए । सन्दिप आउन ढिला गरेपछि प्रहरीले रेक कर्नर नोटिस नै जारी गरी उनको खोजी कार्य गरेको थियो । 

काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सन्दीप केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा जेलजीवन बिताइरहेका थिए।

सन्दीपका वकिलले पीडित भनिएकी किशोरीको जन्ममितिमा प्रश्न उठाएपछि जिल्ला अदालतले उनी जन्मिएको अस्पतालबाट विवरण मगाएको थियो ।

विवरणमा ती किशोरीको जन्ममिति २०६१ साल जेठ १८ उल्लेख छ । अस्पतालले जन्म मितिको नयाँ विवरण पठाएपछि यस प्रकरणमा नयाँ ट्विस्ट आएको हो। 

यदि त्यो जन्ममिति प्रमाणित भएमा घटना घटेको भनिएको मितिमा किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको पुष्टि हुनेछ । तर उच्च अदालतको आदेश आएपनि मुद्धाको किनारा भने जिल्ला अदालत काठमाण्डौबाटै लाग्ने बताइएको छ ।