इटहरीः उपाधि दाबेदार मानिएको साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 शनिबार राति भएको  क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।

फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । तर, केन दोस्रो पटकको पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको यात्रा क्वाटरफाइनलमा टुंगिएको हो ।

खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । उनले ग्रीजम्यानकै पासमा गोल गरेका हुन् ।

त्यसपछि दुबै टोलीबाट थप गोल निस्किएन र फ्रान्स २–१ ले विजयी भयो । अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ ।