इटहरीः  उपाधि दाबेदारको आशा गरिएको  पोर्चुगलले कतार विश्वकप फुटबलमा आफ्नो  विजयी सुरुवात गरेको छ ।

बिहिबार कतारको स्टेडियम ९७४ मा भएको खेलमा  घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले विजय शुरुवात गरेको हो । 

पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानामाथि जित निकालेको हो । 

पहिलो हाफ गोल रहित बराबरीमा टुगिएपनि दोस्रो हाफमा दुवै टिमले गोल गरेका थिए । खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए  । 

यो गोलले रोनाल्डोलाई  पाँच विश्वकपमा लगातार  गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान दिलायो ।  

रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए ।

खेलको ७३ औं मिनेटमा  घानाले १ गोल गर्द खेललाई बराबरीमा ल्याएको थियो भने खेलको  ७८ औं मिनेटमा एक गोल गर्दै जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३–१ ले अघि रह्यो । खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि पोर्चुगल ३–२ ले विजयी भयो ।