इटहरीः उपाधि जित्ने आशा गरिएको अर्जेन्टिनाले कतार विश्वकप फुटबलको इतिहाँसमा ३२ बर्ष पछि पहिलो खेलमै हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।

दोहाको लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध २ – १ को जित निकाल्दै विजय शुरुवात गरेको छ । 

साउदीले अर्जेन्टिनाविरुद्ध पहिलो पटक जित हासिल गरेको हो ।  खेलको पहिलो हाफको दशौँ मिनेटमै अर्जेन्टिनाका क्याप्टेन लियोनल मेसिको पेनाल्टिबाट गोल गरेपछि अर्जेन्टिनाले अर्को गोल गर्न सकेन । 

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता लिएपनि दोस्रो हाफको सुरुमै साउदी अरेवीयाले २ गोल गरेपछि खेल आक्रामक बनेको थियो । 

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो । जसमा मेस्सीले सहजै गोल गरेका थिए । दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्यो ।

315198070_1127561671218980_1603462914470052839_n

खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए भने खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २–१ को जित दिलाए ।

त्यसपछि कुनै पनि टिमले गोल गर्न सकेनन् । यस जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ । साउदी समूहको शीर्ष स्थानमा रहेको छ ।  अर्जेन्टिना पुछारमा रहेको छ ।

यस हारसँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा समेत टुंगिएको छ ।

यस्तै अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको हो  ।  सन् १९९० मा इटालीमा भएको विश्वकपमा अर्जेन्टिना क्यामरुनसँग पहिलो खेलमा पराजित भएको थियो ।