काठमाडौंः  गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेश प्रदेश खेलकुद बिभाग प्रमुख मोहमद ज्याउल इस्लाम, मधेश प्रदेश प्रशिक्षण केन्द्र उपनिर्देशक सुरेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन भएकोमा खुशी व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको लागि शुभकामना दिए ।

‘जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन गरिएको छ । मधेश प्रदेशले ट्रफी ल्याओस शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘नवौंको भव्य शुभकामना दिन चाहन्छु ।’ उनले १० औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजनाका लागि प्रयास गर्ने समेत बताए ।

मधेश प्रदेशका खेलकुदमन्त्री सिंहले राष्ट्रिय खेलकुदको ट्रफी मधेश प्रदेशमा आउँदा आफुहरु प्रफुलित भएको बताउँदै नवौंको सफलताको शुभकामना व्यक्त गरे ।

‘आज हामी प्रफुलित छौँ । जानकी मन्दिरको प्राङ्गणमा ट्रफी प्रदर्शन गरेका छौँ । राष्ट्रिय खेलकुद देशको गौरवको विषय हो । नवौंको सफलताका लागि कामना गर्छु,’ उनले भने ।

मन्त्री सिंहले नवौंमा स्वर्ण विजेतालाई ५१ हजार नगदले पुरस्कृत गरिने समेत बताए ।

उनले आफु आउँदा मधेशको खेलकुद दयनीय रहेको तर मुख्यमन्त्रीको सहयोगले नवौंमा २५ खेल सहभागिता गराउन सफल भएको बताए ।

ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टले राखेपको योजना अनुसार ट्रफीलाई पवित्र भूमि जानकी मन्दिरमा ल्याईएको र अब ट्रफी अन्तिममा गण्डकी प्रदेशमा लगिने जानकारी दिए ।

ट्रफी टुर अन्तर्गत बिहीबार बिहान नै विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुरमा प्रदर्शन गरिएको थियो ।