काठमाडौँः काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेशबहादुर खुलालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

धारा जडान गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रधान कार्यालय टङ्गालबाट खटिएको टोलीले गत साउन ४ गते खुलाललाई पाँच हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्त खुलालले घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) मा उल्लेख भएबमोजिमको अधिकतम सजाय माग गरी मुद्दा चलाइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार अभियुक्त खुलालबाट पाँच हजार रुपैयाँ बिगो असुल गर्ने माग अभियोगपत्रमा गरिएको छ ।