इनरुवाः मंसिर २४ गते राती सुनसरीको कोशी गाउँपालिका–७ मा प्रहरीको गोली लागी मृत्यु हुने व्यक्ति आपराधिक समूहका नेपाली भएको पुष्टि भएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले मृतक भारतीय भएको बताएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ का ४० वर्षीय नसरुल मियाँको सो घटनामा मृत्यु भएको हो । मृतक मियाँ अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह)को केन्द्रीय सदस्यसमेत रहेको मोर्चाले दाबी गरेको छ । सो घटनापछि विराटनगरमा हतियार बुझाउँदै आत्मसमर्पण गर्ने क्रममा मोर्चाले दोहोरो गोली हानाहानमा मृत्यु भएका व्यक्ति आफ्ना केन्द्रीय सदस्य भएको बताएको थियो । मोर्चाले मियाँको मृत्यु सुनसरीमा नभई सप्तरीमा भएको पनि बताएको छ ।
सप्तरीमा गोली हानी हत्या गरी सुनसरीमा भीडन्तमा मारिएको भनी प्रहरीले झुटो विवरण दिएको बताउँदै आएको छ । मृतक मियाँमाथि सुनसरी र सप्तरीमा विभिन्न मुद्दासमेत रहेको र उनी प्रहरीको ‘वाण्टेड’ सूचीमा रहेको प्रहरीको भनाइ छ ।