इटहरीः बिहीबार बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्ममा १ नम्बर प्रदेश ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने २८ जना चालकलाई कारवाही गरेको जनाएको छ । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ७ सय ६३ जना सवारी चालकलाई कारवाही गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सो अवधिमा मोटरसाइकलमा ३ जना यात्रा गराउने १३ जना चालक, बिनाहेलमेट मोटरसाइकल चलाउने १५ जना र क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने ७४ जनालाई कारवाही गरिएको छ । त्यस्तै, साथमा सवारी चालक अनुमति पत्र नभएका ४६ जना र सवारी चालक अनुमति नभएका व्यक्तिलाई सवारी साधन चलाउन दिन २७ जनालाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।

जथाभावी पार्किङ गर्ने २२ जना, रोक्न निषेधमा सवारी साधन रोक्ने ६० जना, पार्किङ निषेधमा सवारी साधन पार्किङ गर्ने ७ जना र सुरक्षा पेटी नबाँध्ने १८ जना सवारी चालक कारवाहीमा परेको बताइएको छ । कागजपत्र साथमा नराख्ने १ सय ८५ जना, ट्राफिक इशारा उल्लङ्घन गर्ने ५ जना, सवारी साधनको बत्ती ठीक अवस्थामा नराखी सवारी चलाउने २७ जना कारवाहीमा परेका छन् ।

कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईका अनुसार हर्न निषेधमा हर्न बजाउने ७ जना, तीव्र गतिमा सवारी चाधन चलाउने ४ जना र ढोका खुल्ला राखी सवारी साधन चलाउने ३१ जना कारवाहीमा परेका छन् । हद भन्दा बढी मालसामान ढुवानी गर्ने २८ जना, लापरवाही साथ सवारी साधन चलाउने १ सय ६२ जना र विना रुटपरमिट सवारी साधन चलाएको ४ जना सवारी चालक पनि कारवाहीमा परेको उनले बताए ।

सवारी दुर्घटना न्यूनीकरणको लागि सो अवधिमा प्रदेशका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि उनले बताए ।