दमकः सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका ७ वर्षीय छोरा मैफुज आलमलाई उनीहरूले अपहरण गरेका थिए ।

प्रहरीका अनुसार अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको थियो । अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।

फिरौती रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेको थियो । इलाका प्रहरी कार्यालय गौरीगञ्जको पहलमा नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको बताइएको छ ।