इटहरीः बत्तीमुनिको अँध्यारोजस्तै छ रामधुनी नगरपालिका वडा नम्बर ९ को तीन टोलिया बस्ती । करिब ३५ वटा घरधुरी रहेको तीन टोलियाको दलित बस्तीमा १ सय बालबालिका छन् तर मुस्किलले १५ देखि २० जना मात्र नियमित विद्यालय जाने गर्छन् । छेउमै भएर बग्ने दतकिचा खोला अनि अर्कोतिर नहर अनि खेतको बीचमा रहेको बस्तीका अधिकांश अभिभावक निर्माणको काममा मजदुरी गर्छन् । 

आफूहरु दलित भएकै कारण कसैले राम्रो नजरले नहेर्ने र विद्यालयमा पनि राम्रो पढाइ नहुँदा आफूले जम्मा कक्षा तीनसम्म मात्र पढेको सूर्य सदा बताउँछन् ।  २१ वर्षीय सूर्यले बालविवाह गरेका थिए । उनीहरुको बस्तीमा बालविवाह गर्नु हँुदैन भनेर समेत चेतना जगाउन कोही पनि नआउने गरेको उनको भनाइ छ । ‘गरीबलाई वास्तै गर्दैैनन् । सानैमा विवाह गर्दा बालविवाहको मुद्दा लाग्छ भन्थे, त्यो पनि चेतना दिन यो गाउँमा कोही आउँदैनन् । हामी मधेसी त्यहाँमाथि दलित भएकाले पनि कसैले हामीलाई हेर्दैनन् ।’ सूर्यले प्रदेश पोर्टललाई सुनाए । 

298354976_3205045229708748_3785384528632293857_n

तीन टोलियाको दलित बस्तीबाट नजिकै भएको विद्यालय भनेको इनरुवा नगरपालिका वडा नम्बर ६ को जनहित आधारभूत विद्यालय हो । अर्को विद्यालय रामधुनी ९ को मिर्चैयामा छ तर यी दुवै विद्यालय पुग्न बालबालिकालाई आधा घण्टा लाग्छ । बाटो नहुँदा बालबालिकाहरु खेतको आली आलीबाटै विद्यालय जाने र कहिले त आलीबाट खेतमा लडेर विद्यालय नै नपुग्ने गरेको जनहित आधारभूत विद्यालयकी अभिभावक संघकी अध्यक्ष रेखा सदाले बताइन् । सक्ने बच्चा विद्यालय जाने भएता पनि नसक्ने बच्चाहरु हिलोमा लड्ने र हिलो कपडा लिएर घरै फर्किने गरेको रेखाको भनाइ थियो । त्यही बस्तीमा बस्ने संगीता सदाले विद्यालय देखेकै छैनन् । ३ जना दिदीबहिनी र १ जना भाइमध्ये जेठी संगीतालाई हामीले किन विद्यालय नगएको भनेर प्रश्न गर्यौँ तर उनको उत्तर मौनतामै सकियो । संगीताकी आमा भन्छिन् ‘४ वटामा तीन वटा स्कुल जान्छन् तर संगीतालाई जाउ भन्दा पनि मान्दिनन् । त्यसैले नपठाएका हौँ ।’ 

तीन टोलिया बस्तीमा हामीले भेटेका रोजिना सदा कक्षा १ मा पढ्छिन् तर रोजिनालाई आफू पढ्ने विद्यालयको नामसमेत याद छैन । तिम्रो विद्यालयको नाम के हो भन्ने प्रदेश पोर्टलको प्रश्नमा उनले ‘सरकारी स्कुल’ मात्रै भन्न सकिन् । बाँकी केही बोलिनन् । दलित बालबालिकाहरुलाई विद्यालयमा समेत विभेद हुने गरेको कतिपय अभिभावकहरुले सुनाए । कति त विभेदकै कारण पनि विद्यालय नजाने गरेको हामीले सुन्यौँ । कक्षा ६ सम्म पुगेका निरज सदा करिब १५ वर्षका छन् । विद्यालय जाँदै गर्दा भागेर अहिले भारतको कास्मिरतिर पुगेका छन् । निरजका बुवा चिन्वा सदा निर्माणको क्षेत्रमा हेल्परको काम गर्छन् । चिन्वाका अनुसार सदा समुदायका बालबालिका विद्यालय नजानुको मुख्य कारण बाटो भएको बताउँछन् । त्यसो त अभिभावकमा पनि पढ्नुपर्छ र पढाउनु पर्छ भन्ने मानसिकतामा नरहेको र शिक्षाको गुणस्तर राम्रो नभएको कारण पनि बालबालिका विद्यालयतर्फ आकर्षित नभएको श्याम सदा सुनाउँछन् । 

298590073_804190224098785_7211351165884686659_n

निर्माणको काममै मिस्त्रीको काम गर्ने श्यामका दुई जना बच्चा भने मिर्चैैयामा निजी विद्यालयमा पढ्न जान्छन् । करिब दश मिनेटको पैदल यात्रापछि सिटि सफारीमा विद्यालय पठाउने गरेको श्यामले हामीलाई सुनाए । ९ वर्षका छोरा र ६ वर्षकी छोरीका पिता श्याम आर्थिक अवस्था नै यहाँका दलित बस्तीका बालबालिका विद्यालय नजानुको मुख्य कारण रहेको प्रदेश पोर्टललाई सुनाउँछन् । तीन टोलियाको यो बस्तीमा करिब ५० भोट छन् । त्यही भोटका लागि निर्वाचनताका नेताहरु आउने भएपनि निर्वाचन सकिएपछि कसैले त्यता फर्केरसमेत नहेर्ने गरेको स्थानीयहरको भनाइ छ । ‘हामी ऐलानी जग्गामा छौँ कहिले लखेट्ने हो थाहा छैन । ’उनीहरु दुखेसो पोख्छन् । बालमैत्री स्थानीय सरकारको रुपमा घोषणा भइसकेको रामधुनी नगरपालिकाको यो गाउँका बालबालिका किन विद्यालयको पहुँचमा छैनन् त ? हामीले रामधुनी नगरपालिकाका बालमैत्री स्रोत व्यक्ति अमन ढुङ्गेललाई सोध्यौँ । ‘हामी मातहतका बाल सञ्जालहरु र जनप्रतिनिधिले समेत विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेका छौँ तर पनि अभिभावकको बेवास्ताका कारण बालबालिकाहरु विद्यालय गइरहेका छैनन् ।’ अमनले हामीलाई सुनाए ।

298591857_537131618169500_5674347876110166582_n

रामधुनी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम चौधरी पनि तीन टोलियाको दलित बस्तीमा समस्या रहेको स्वीकार गर्छन । सुधारको लागि पटकपटक पहल गरेको भएपनि सुधार नभएको चौधरीको भनाइ छ । हरेक घरलाई चर्पी बनाउन रिंग दिँदा पनि चर्पी नबनाएको चौधरीले बताए । विद्यालय केही टाढा भएकाले अब तीन टोलियाका बस्तीलाई नजिकै पर्नेगरी दतकिचा खोलामा ट्र«स्ट पुल बनाउन लागेको घनश्यामले हामीलाई सुनाए । तीन टोलियाको बस्तीलाई सहज पर्नेगरी बाल विकास स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको वडाध्यक्ष चौधरीको भनाइ थियो ।