काठमाडौँः जिल्ला अदालत काठमाडौंले विशाल सिमेन्टका पूर्व सञ्चालक व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा) को कारोबार गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त कारोबार गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठविरुद्ध रु ४८ करोड बढी बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एक समूहले गत असार २९ गते श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठले हुण्डीमार्फत् विदेशमा रकम पठाएको पत्ता लागेको थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको उल्लेख गर्दै  श्रेष्ठविरुद्ध बिगोको तीन गुणसम्म जरिवाना र सात वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्णरुपमा गैरकानुनी रहेको उल्लेख गर्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो । -रासस