इटहरीः नेपाल सरकारका विभिन्न निकायमा कार्यरत बहालवाला तथा अवकाशप्राप्त निजामती कर्मचारीहरुद्वारा रचित कविताहरुको संग्रह ‘राष्ट्रसेवक काव्यकुञ्ज’ सार्वजनिक भएको छ ।
 सुनसरीको इटहरीस्थित होटल त्रियुगामा आयोजित विशेष समारोहका बीच सो कृतिको विमोचन तथा कृतिउपर विमर्श गरिएको हो । एकीकृत कर्मचारी संगठन नेपालको सुनसरी कार्यसमितिद्वारा प्रकाशित सो कृतिमा निजामती सेवाका क्षेत्रमा योगदान पुर्याएका र साहित्यिक चेत भएका एक सय २३ जना श्रष्ठाहरुका विभिन्न काव्यिक शैलीका कविताहरु संग्रहित छन् । वरिष्ठ सँस्कृतिविद् सत्यमोहन जोशीले समेत यस संग्रहमा कविता लेखेका छन् । 
कृतिमाथि धारणा राख्ने क्रममा कवि प्रकाश राईले साहित्यले विषयवस्तुलाई सरल रुपमा बुझाउने बताए । आफ्नो भनाइलाई पुष्टि गर्दै उनले माक्र्सवादका सिद्धान्तको रटान रट्नुभन्दा लक्ष्मीप्रसाद देवकोटाको मुनामदन खण्डकाव्य वा म्याक्सिम गोर्कीको आमा उपन्यासको अध्ययनबाट समाजमा व्याप्त वर्गसङ्घर्षबारे बढी रोचक ढङ्गले बृहत्तर ज्ञान आर्जन गर्न सकिने उल्लेख गरे । शिक्षाले सीप र चेतना दिन सके मात्र यसको उपयोगिता रहने भन्दै उनले त्यसका लागि मानविकी अध्ययन आवश्यक रहेको जिकिर गरे । मानविकीबिनाको राष्ट्रसेवा आदर्श राष्ट्रसेवा हुन नसक्ने भन्दै कर्मचारीले सेवाग्राहीमैत्री व्यवहारजस्ता मानवीय गुण र सीप मानविकीको अध्ययनबाट पाउन सक्ने उल्लेख गरे । यो पुस्तक निजामती कर्मचारीका काव्यकृतिमाथि विद्यावारिधि गर्न चाहने व्यक्तिहरुका लागि सन्दर्भ सामग्री बन्न सक्ने स्तरीय पुस्तक भएको उनको टिप्पणी थियो ।
यसैगरी, अर्का वक्ता कवि मनु मञ्जिलले सोझै अभिव्यक्त गर्न नसकिने भावनात्मक अभिव्यक्ति प्रकट गर्ने माध्यम साहित्य भएको बताए । कविताको रचना जानेर गर्न सकिने कार्य नभई अनिश्चितताले दिएको उपहार भएको उनको भनाइ थियो । मानिसको प्रेम प्राप्त गर्ने सुन्दर बाटो कविता भएको बताउँदै उनले आफ्ना अनुभूतिहरुमार्फत् जोकसैले पनि कविता लेख्न सक्ने बताए । कृतिमा संग्रहित कविताहरुमा मौलिकता रहेको उल्लेख गर्दै कवि मञ्जिलले फरक क्षेत्रमा काम गर्ने व्यक्तिले प्रयोग गर्ने फरक शब्दावलीको प्रयोग कविताहरुमा भएको उल्लेख गरे । संग्रहमा संग्रहित डिभिजन वन कार्यालय इनरुवामा कार्यरत कवि रमेश रेग्मीको कविता ‘उनको सम्झनामा’ मा प्रयुक्त ‘सुन्दर गोरेटोको डी.पी.आर. कोरेको थिएँ’ भन्ने अंशमाथि ठट्यौली शैलीमा विश्लेषण गर्दै कवि मञ्जिलले प्रेमको बाटो बनाएको भन्नुपर्नेमा प्राविधिक व्यक्तिले लेखेको कविता भएकाले प्राविधिक शब्दावली ‘डी.पी.आर.’ प्रयोग हुन गएको बताउँदा कार्यक्रमस्थल हाँसोले गुञ्जायमान भएको थियो ।
कविता संग्रहका अतिथि सम्पादकसमेत रहेका साहित्यकार तथा पूर्वकर्मचारी बद्री भिखारीले आफू आबद्ध रहेको सँस्थाले गरेको कार्यक्रममा आउन पाउँदा आफैँलाई सँस्थाले सम्मान गरेजस्तो अनुभूति भएको बताए । कर्मचारीको जीवन कार्यालयको घेराभित्र मात्र सीमित नभई कार्यालयबाहिर पनि संसार छ भन्ने चेत कर्मचारीहरुले गरेका साहित्यिक सृजनाले प्रदान गरेको उनको भनाइ थियो ।कार्यक्रमका अवसरमा राष्ट्रसेवक काव्यकुञ्जमा कविता लेखेका ६ जना र अन्य ६ जना कविहरुले कवितासमेत वाचन गरेका थिए । कविता वाचन गर्ने कवि तथा अतिथिहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । सामाजिक विकास मन्त्री राजन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व संगठनका जिल्ला अध्यक्ष गणेश भट्टराईले गरेका थिए । पुस्तकको मूल्य व्यक्तिगत पाँच सय रुपैयाँ र सँस्थागत एक हजार रुपैयाँ रहेको छ ।

                    
        
        
                            
                                                            
        



















