इटहरीः वर्षौँदेखि इटहरीको हटियामा व्यापार सञ्चालन गरीरहेका सडक व्यापारीहरु करिब ४ दर्जनको संख्यामा शुक्रबार इटहरी उपमहानगरपालिका कार्यालय परिसरमा भेटिए । 

नगरप्रमुख हेमकर्ण पौडेललाई भेट्न उपमहानरमा डेलिगेसन लिएर पुगेका व्यापारीहरुलाई मेयरले भेट दिन सकेनन् बरु 'आइतबार आउनुहोस्' भन्दै बाहिरिए । 

मेयरका स्वकीय सचिवसँग १ बजेको समय लिएर गएका सडक व्यापारीहरु मेयरलाई भेट्न नपाएपछि निराश मुद्रामा फर्किए । प्रदेश पोर्टलसँगको कुराकानीमा नेपाल स्वतन्त्र व्यापार संगठनकी केन्द्रीय सदस्य संगीता कार्कीले वर्षौँ पहिलदेखि इटहरी हटियामा व्यापार गरिरहेका व्यापारीहरुको व्यवस्थापन गर्नुपर्नेमा नगरले चासो नदिएको हुँदा मेयरलाई भेट्न आएको बताइन् । आफूहरुले आफ्ना मागहरुको बारेमा ज्ञापनपत्र बुझाइसकेको बताउँदै कार्कीले सडक व्यापारीलाई बेवास्ता गर्ने हो कि व्यवस्थित गर्ने हो भनेर बुझ्न आफूहरु मेयरलाई भेट्न आएको बताइन् । 

सडकमा व्यापार गर्ने व्यापारीहरुको मुद्दालाई महलमा होइन, सडकमै समाधान गरियोस् भन्ने माग आफूहरुको भएको सङ्गीताले बताइन् । मेयरले आइतबार आउन भनेर पठाएको कार्की बताउँछिन् । इटहरीमा सडक व्यापारीको रुपमा काम गरिरहेका दिनेश ठकुरीले आफूहरुजस्ता हप्ताको सातै दिन हटियामा सडक व्यापार गर्नेहरुलाई नियामक निकायले कुनै प्रकारको सेवासुविधा नदिने गरेको र आफूहरुको समस्या पनि नबुझ्ने गरेको बताए ।  हाट बजारको बारेमा विभिन्न भ्रामक कुराहरु सुनिन आएको भन्दै ठकुरीले आफूहरुलाई सम्बन्धित निकायले कुनै सूचना नदिने गरेको बताए । 

सडक व्यापारकै भरमा बच्चाहरुको लालनपालन गरिरहेका सडक व्यापारीहरुलाई व्यवस्थापन गर्ने कुनै सूचना नगरी इटहरी तरकारी बजारमा कोल्डस्टोरको भवन बनाउने तयारीस्वरुप व्यापारीहरुलाई हटाएको बताउँदै आफूहरु अब के गर्ने ? कता जाने ? भन्ने अन्यौलतामा रहेको ठकुरीले उल्लेख गरे ।  हरेक हाट बजारमा आफूहरुले ८० रुपैयाँ कर तिरिरहेको बताउँदै ठकुरीले आफूहरुले तिरेको कर उपमहानगरपालिकाको राजश्वमा नआउने गरेको सुनिएको बताए । उपमहानगरले कृषि उपज बजार निर्माण गर्ने भन्दै सडक व्यापारीहरुलाई उठाएर निर्माणको सामान झार्न थालेकाले व्यापारीहरु आक्रोशित भएर उपमहानगरमा आउनु परेको नेपाल स्वतन्त्र व्यापार संगठनका उपमहासचिव प्रदीप तामाङ्गले बताए । 

उपमहानगर क्षेत्रमा कोल्ड स्टोर तथा कृषि उपज बजार निर्माण गर्नु सकारात्मक भएता पनि पहिला त्यो क्षेत्रमा व्यापार गरिरहेका श्रमजीवी सडक व्यापारीहरुलाई व्यवस्थापन गरेर मात्र निर्माण कार्यको थालनी गरिनुपर्ने तामाङ्गको भनाइ छ । वर्षौँदेखि कर तिरेर व्यापार गरिरहेका सडक व्यापारीहरुलाई जानकारी नदिई र व्यवस्थापनसमेत नगरी अचानक निर्माण सामग्री झार्न थालेपछि सडक व्यापारीहरु आक्रोशित भएको  उ पमहासचिव तामाङ्गले प्रदेश पोर्टललाई बताए । हाट बजारमा हरेक व्यापारीले दिनको २५ रुपैयाँदेखि ४५ रुपैयाँसम्म राजश्व नगरपालिकालाई बुझाउनुपर्ने नियम भएता पनि हाट ठेक्का लिने ठेकेदारले ८० रुपैयाँ तथा सोभन्दा बढी पनि लिने गरेको पाइएको छ । 

ठेकेदार आफैँ नआउने तर हटिया कर उठाउन आउनेले बिनारसिद पैसा उठाउने गरेको सडक व्यापारी इन्द्र श्रेष्ठ बताउँछन् । असार मसान्तसम्मको ठेक्का सकिए पनि नयाँ ठेक्का नलागेको अवस्थामा ठेकेदारले अहिले पनि बिनाटिकट व्यापारीबाट पैसा उठाइरहेको समेत व्यापारी बताउँछन् । सडक व्यापारीले कर तिरेअनुसार हटियामा बस्ने व्यापारीलाई पानी, बत्ति तथा शौचालयको समेत व्यवस्था नभएको व्यापारीहरुको गुनासो छ । सबै सडक व्यापारीलाई समेट्ने गरी कृषि बजार बनाए व्यापारीहरुले दैनिक २ सय तथा तीन सय रुपैँयाँसम्म तिर्न सक्ने नेपाल स्वतन्त्र व्यापार संगठनका महासचिव तामाङ्गले बताए । उपमहानगरले कोल्ड स्टोर बनाएपनि सानो ठाउँमा बनाउनुपर्ने र सडक व्यापारीहरुलाई स्थान दिनुपर्ने व्यापारी संगीता कार्कीले बताइन् ।