इटहरीः स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको स्वास्थ्योपचार सेवा उपलब्ध गराइरहेका प्रदेश १ का ठूला अस्पतालले भुक्तानी नपाएको कारण देखाउँदै सोमबारबाट बीमा बापतको स्वास्थ्य सेवा स्थगित गरेका छन् । 

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममार्फत् सेवा दिएबापत भुक्तान हुनुपर्ने रकम भुक्तान नभएपछि मोरङ्गको विराटनगरका नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र विराट मेडिकल कलेज शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेका हुन् भने झापाको बी एण्ड सी अस्पतालले पनि बीमा बापतको उपचार सोमबारबाट स्थगित गरेको छ । तीन वटै अस्पतालले बीमा बोर्डले स्वास्थ्य सेवा बापतको भुक्तानी नदिएको कारण देखाउँदै बीमा सेवा बापतको उपचार बन्द गरेको बताएका छन् ।  बीमा सेवा दिएबापत साउन १ गतेसम्म ५५ करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाएको विराटनगरस्थित नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए । 

नोबेल मेडिकल कलेज प्रशासनले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै साउन १ गते १२ः०० बजेबाट लागू हुनेगरी कार्यक्रम अनिश्चितकाको लागि स्थगित गरेको हो । अस्पतालका प्रबन्धक दाहालले स्वास्थ्य बीमा बोर्डलाई पटकपटक रकम निकासाका लागि अनुरोध गर्दा पनि चासो नदेखाएपछि स्वास्थ्य बीमामार्फत् दिइने सेवा नै ठप्प पार्ने निर्णयमा पुगेको बताए । प्रदेशभरकै बिरामीको चाप देखिने नोबेल मेडिकल कलेजमा  दैनिक २ हजारभन्दा बढी बिरामीले ओपीडीमार्फत् सेवा लिने गरेका छन् । जसको ६० प्रतिशत बिरामी स्वास्थ्य बीमा कार्यक्रमका आउने गरेका थिए । 

nobel1

यसैगरी विराटनगरकै विराट मेडिकल कलेज शिक्षण अस्पतालले पनि सोमबारबाटै बीमा सेवाबाट पाउने स्वास्थोपचार स्थगित गरेको छ । स्वास्थ्य बीमा बोर्डले आफूहरुलाई ४६ करोड रुपैयाँ बराबरको भुक्तानी दिन बाँकी रहेको विराट मेडिकल कलेजका बीमा विभाग प्रमुख सुनिल देवले प्रदेश पोर्टललाई बताए । बाह्र करोड रुपैयाँ बराबर औषधिको पैसा फार्मेसीलाई तिर्न बाँकी रहेको र डाक्टरहरुको समेत २ महिनादेखि तलब दिन नसकेका कारण आफूहरु बाध्य भएर सेवा बन्द गर्ने स्थितिमा पुगेको देवले बताए । आफूहरुले पटकपटक स्वास्थ्य बीमा बोर्डसँग भुक्तानीका लागि पहल गर्दा पनि हुन्छ हुन्छ मात्रै भन्ने र पैसा भने निकासा नगर्ने गरेको विराट शिक्षण अस्पतालले बताएको छ । 

यसैगरी, आइतबारै एक विज्ञप्ति जारी गर्दै झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालले समेत स्वास्थ्य बीमा बापतको कार्यक्रम सोमबारबाट स्थगित गरेको घोषणा गरेको छ । विज्ञप्तिमा तीन वटै अस्पतालहरुले नेपाल सरकारले आर्थिक वर्ष २०७९ ÷०८० को बजेट भाषणमार्फत् स्वास्थ बीमा कार्यक्रम सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र गर्ने घोषणा गरेको भएपनि आर्थिक वर्ष शुरु भइसक्दासमेत सोसम्बन्धी नयाँ कुनै सूचना नपाएका कारण स्वास्थ्य सेवा रोकेको बताएका छन् । यता धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि बीमा कार्यक्रम साउन महिनाको ७ गतेबाट स्थगित गर्ने बताएको छ । असार २५ गतेबाटै सेवा रोक्ने बताएको प्रतिष्ठानले धरानका मेयर हर्क साम्पाङ्गसँगको भेटपछि साउन ७ गतेसम्म पर्खने बताउँदै सूचना जारी गरेको थियो ।  

birat1

सरकारले ०७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा लागु भइसकेको छ । प्रतिपरिवार ५ जनासम्मका लागि  ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको नियमन, अनुगमन, प्रचारप्रसार, दाबी भुक्तानीको रुजुलगायत काम स्वास्थ्य बीमा बोर्डको हो । बोर्डका अनुसार हाल मुलुकभर ४ सय ४० वटा स्वास्थ्य सँस्थाले बीमा कार्यक्रम लागु गरेका छन् । तर, अस्पताल व्यवस्थापनले कहिले समयमा रकम नपाएको भन्दै सेवा ठप्प पार्दा त कहिले फार्मेसीमा औषधि उपलब्ध नहुँदा बीमितहरू मर्कामा पर्दै आइरहेका छन् ।

b and c1

यता, सुनसरीको इटहरी अस्पतालले ठूला भनिएका अस्पतालले बीमा कार्यक्रममार्फत् उपचार नगर्ने निर्णय गरेपछि रेफर लिन आउने बिरामीको संख्या घटेको बताएको छ । इटहरी अस्पतालमा प्रशासन प्रमुख रामकुमार धमलाले ६० प्रतिशत रेफरका बिरामी घटेको र इटहरी अस्पताल आएका बिरामीहरु त्यहीँ उपचार गर्न लागेको बताए । जेठ १५ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा निजी कम्पनीमार्फत् सञ्चालन गर्न आवश्यक तयारी थालिने बजेटमा उल्लेख गरेका थिए । तर बजेट भाषणपछि अर्थमन्त्री नै विवादमा तानिएर मन्त्रालय मन्त्रीविहिन बनेको छ ।