इटहरीः इटहरीकी अप्सरा कार्कीले तेक्वान्दोमा जीवन समर्पित गरेको १७ बर्ष भएछ । तर अरुले देखेजस्तो र भनेजस्तो सजिलो भने छैन जीवन । त्यो भोगाइले विस्तारै देखाउँदै र सिकाउँदैछ । कक्षा ७ मा पढ्दै गर्दादेखि रहर गरेर सुरु गरेको तालिमले अहिले आएर आत्मसन्तुष्टि त दिएको छ नै तर भनेजस्तो र सोचेजस्तो जिन्दगी भने चलेको महसुस अप्सराले गरेकी छैनन् । 

पुरुषको जस्तो सजिलो र एकनासले चल्दैन महिलाहरुको जीवन । त्यहाँमाथि हामी हुर्किएको साँघुरो समाजमा त महिलालाई कुरा काट्नेहरुबाट जोगिएर हिँड्नसमेत निकै कठिन पर्छ । फेरि परिवार र समाजले पनि महिलालाई खेलाडी बन्नभन्दा पढेर अरु नै पेसामा लाग्न प्रेरित गरिरहेका हुन्छन् । अप्सरालाई पनि त्यो अप्ठ्यारो नआउने कुरै भएन । ‘घरमा बाबाले त केही भन्नुभएन तर आमाले खेल खेल्दा छातिमा लाग्ला, विवाह गरेर जाने चलनअनुसार घर गरी खानुपर्छ, पछि मातृत्वको लागि समस्या हुन सक्छ भनेर सगज गराउनुहुन्थ्यो ।’ अप्सराले विगत सम्झिने  प्रयत्न गरिन् । 

नेपाल प्रहरीमा कार्यरत बुवा प्रेमबहादुर कार्की र आमा बिमला कार्कीको पहिलो सन्तानको रुपमा जन्मिएकी अप्सरा अलिक हक्की स्वभावकी भएकाले पनि खेल्न र सिक्न निकै मन पराउँथिन् । इटहरी ५ मा रहेको  घरनजिकै १ महिना कराँते सिकेपछि अप्सराले जुट विकास टोलस्थित रेशम प्रशोधन केन्द्रको भवनमा रहेको एउटा हलमा तालिम लिन थालिन् । त्यतिबेला उनका गुरु प्रशिक्षक फणिन्द्र खड्काले प्रशिक्षण दिने गरेका थिए । संयोग नै भनौँ, तालिममा जान थालेको १३ दिनपछि एउटा अञ्चलस्तरीय प्रतियोगितामा भाग लिने मौका मिलेछ अप्सरालाई । त्यो नै जिन्दगीको पहिलो प्रतियोगिता थियो उनको । पहिलो प्रतियोगितामा आफूभन्दा सिनियरसँग बराबरी मार्क आएपछि खेल ड्र भएको थियो । त्यो प्रतियोगिताले उनलाई थुप्रै हौसला र प्रेरणा पनि दियो । विराटनगरको स्टार बोर्डिङ्ग स्कुलबाट पढाइ सुरु गरेकी कार्कीले सेक्रेट हार्ट बोर्डिङ्ग हुँदै एसएलसीको परीक्षा इटहरी ५ को ज्योति स्कुलबाट उत्तीर्ण गरेकि हुन् । खेल र पढाइलाई सँगसँगै लैजाने क्रममा अप्सराले इटहरीकै जनता कलेजबाट उच्च माध्यमिक शिक्षा सकाइन् । 

२०६२ साल र २०६६ सालमा इटहरीमै आयोजना भएका पहिलो र दोस्रो इटहरी आमन्त्रण खेलमा क्रमश तेस्रो र दोस्रो स्थानमा आएकी कार्कीले हालसम्म ८ भन्दा बढी स्वर्ण पदक जितेकी छन् भने ६ वटा रजत पदक र ५ वटा प्रतियोगितामा तेस्रो स्थान अर्थात् कास्य पदक (ब्रोन्ज मेडल) जित्न सफल बनेकी छन् । तेक्वान्दोमा लागेपछि साढे २ वर्षको अन्तरालमा अप्सराले ३ वटा राष्ट्रिय प्रतियोगिता जितिसकेकी थिइन् ।            

२०६५ सालमा भएको नेसनल युथ स्पोर्टस फेस्टिवल तेक्वान्दो च्याम्पेन्सिपमा प्रथम स्थान अर्थात् गोल्ड मेडल ल्याएकी अप्सराले तेस्रो गणतान्त्रिक राष्ट्रिय च्याम्पियनसिपमा गोल्ड मेडल, र काठमाडौँमा सोही साल भएको पाचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि तेक्वान्दोतर्फ गोल्ड मेडल नै प्राप्त गर्न सफल भएकी थिइन् । पाँचौँ नेसनल च्याम्पियनसिप फर कोरियन एम्ब्यासडर कप साथै सातौँ कोरियन एम्ब्यासडर खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पेन्सिपमा समेत गोल्ड मेडल जितेकी कार्की २०१७ को राखेप च्याम्पियनसिपमा गोल्ड र पहिलो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा समेत स्वर्ण पदक प्राप्त प्रतियोगी हुन् । 

खेलाडीले मेहनत गरेर खेल खेलेबापत पाउने भनेको जम्माजम्मी मेडल र प्रमाणपत्र मात्र हो । बेलाबेला अन्तर्राष्ट्रिय खेलमा मेडल जित्ने खेलाडीलाई नेपाल सरकारले घोषणा गरेर दिने नगद पुरस्कारभन्दा बण्स् खेलाडीहरुले केही पाउँदैनन् । पाउने भनेको दर्शक र समर्थकको माया र प्रशिक्षकहरुले दिने हौसला मात्र हो । 

तेक्वान्दोमा पनि फाइटमा राम्रो प्रस्तुति दिने अप्सरा हौसेर खेल्नु हँुदैन, धेर्य गरेर अगाडि बढ्नुपर्छ भन्ने गुरुहरुको प्रेरणाभन्दा बाहिर जाँदा पहिलो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भिड्ने क्रममा टर्निङ्ग किक हान्दै गर्दा उनको दाहिने खुट्टा ट्वीस्ट भयो । खुट्टा त्यस्तो भएपनि अप्सराले खेल्न भने छोडिनन् । तर आराम गर्नुपर्ने भयो र अन्तमा दायाँ खुट्टाको घुँडामा शल्यक्रिया नै गर्र्नुपर्यो । खेलमा नै जीवन देखेर लागेकी अप्सरालाई घरिघरी अब करियर सिद्धियो भनेर चिन्ता लाग्ने गरेको थियो । तर ६ महिना आराम गरेपछि पुनः मैदानमा आउन सफल भइन् । ४९ केजी तौल समुहबाट च्याम्पियन बनेकी अप्सराको खुट्टाको अपरेसन गरेपछि अचानक तौल बढ्यो । अहिले अप्सरा केही मोटाएकी छन् तर उनको आक्रामक एट्याक गेम खेल्ने बानी भने गएको छैन । देश संघीयतामा जानुपूर्व विकास क्षेत्रकै संचरना हुँदादेखि तेक्वान्दोका टार्जन गुरु तेक्वान्दोका पूवाञ्चल प्रमुख थिए । सिनियर भएकोले अहिले पनि अप्सरालाई गुरु अभिभावकजस्तै लाग्छ । 

हुन त हरेक अन्तर्राष्ट्रिय खेलमा एउटै नियम हुन्छ तर पनि खेल सामग्री नहुँदा हामी पछाडि परेको हो कि भन्ने अनुभूति अप्सरालाई हुने गरेको छ । तेक्वान्दोमै पनि पहिलाजस्तो फाइट अहिले हुँदैनन् । अहिले सिस्टमबाट खेलिन्छ । अर्थात् टेक्निकको प्रयोग गरिन्छ र जहाँ किक हान्दा नम्बर पाइने हो, त्यहाँ किक हानिन्छ । पहिलाजस्तो आक्रामक फाइट हुँदैनन् । 

थाइल्याण्डमा मार्सल आर्टसको एसियन च्याम्पियनसिप खेल्दै गर्दा अप्सराले अफगाननिस्तानकी प्रतिस्पर्धीसँग खेलेकी थिइन् । विदेशी खेलाडीसँग खेलेको अनुभवले अप्सरालाई सिकाएको कुरा भनेको हामी नेपालीहरु उनीहरुभन्दा दह्रा छौँ भन्ने हो । 

खेल एउटा नसा हो र जीवनको आनन्द पनि । हो त्यही आनन्दमा छिन् अप्सरा । तेक्वान्दो खेल्ने क्रममै उनको एउटा घुँडाको अप्रेसन भयो र अर्को घुँडा पनि डाक्टरको सल्लाहअनुसार अप्रेसन गर्नुपर्ने भएको छ । तर पनि उनी खेलबाट टाढा छैनन् । वि.स. २०६५ देखि २०६६ सम्म विभिन्न खेलमा राम्रो प्रस्तुति दिएकै कारण सशस्त्र प्रहरी बलको बिभागिय टोलीले अप्सरालाई कररमा लिने प्रस्ताव गरेछ । आखिर जीवन खेलमै समर्पित गर्ने भएपछि केही मात्र भएपनि तलब आउँछ र खेललाई निरन्तरता दिन सकिन्छ भनेर अप्सरा २०६७ सालदेखि सशस्त्र प्रहरी बलको विभागीय टोलीबाटै तेक्वान्दो खेल्दैछिन् । प्रतियोगिता हुँदा खेल्ने र नहुँदा सिल्प, शैली र टेक्निकको लागि निरन्तर तालिम लिने अहिले उनको दैनिकी हो । 

काठमाडौँमा भएको तेह्रौँ साग खेलमा दोस्रो अर्थात सिल्भर मेडल प्राप्त गरेकी अप्सरा खेलाडीलाई हेर्ने दृष्टिकोण सरकारी पक्षबाट अझै पनि कमजोर नै भएको बताउँछिन् । देशका थुप्रै जिल्लामा खेल खेल्नकै लागि पुगेकी कार्की सरकारले खेलाडीहरुलाई खेलमा उत्कृष्ट प्रस्तुति दिएबापत नगद पुरस्कार दिनुपर्ने आवश्यकता औल्याउँछिन् । राष्ट्रिय खेलकुद विकास बोर्डले समयमा खेल र प्रतियोगिताहरु आयोजना गर्ने, कम्तिमा ३ महिना पहिले नै छनौट सकाएर बन्द प्रशिक्षण गराउने गरियो भने पदक प्राप्त गर्ने धेरै सम्भावना हुने अप्सराले औँल्याइन । त्यति मात्र नभएर खेलाडीलाई ए, बी, सी क्याटेगोरीमा राखेर छुट्याउन सके आफू माथिल्लो लेभलमा जानको लागि खेलाडी सदैव प्रयासरत रहने जसले खेलाडीलाई उर्जा र हौसला प्रदान गर्ने उनको भनाइ छ । त्यसो त खेलाडीलाई खेल सामग्री र डाइटजस्ता कुराहरुमा ध्यान पुर्याउनुपर्ने पनि उनले सुनाइन् । 

पहिला खेल्न नजान सुझाव दिने अप्सराकी आमा बिमला कार्की अहिले छोरीले सम्मान र पुरस्कार र मेडल ल्याउन थालेपछि भने निकै हर्षित मुद्रामा देखिइन् । ‘खुसी लागेको छ । छोरीले थुप्रै सम्मान तथा पुरस्कार ल्याएकी छे ।’ बिमलाले सुनाइन् । 

प्रदेश तथा स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका तथा पदक प्राप्त गरेका खेलाडीलाई उचित सम्मान तथा पुरस्कार दिन सके खेलाडीहरुमा हौसला प्राप्त हुने कार्कीको बुझाइ छ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा विराटनगरमा भेटिएकी अप्सरा प्रदेशभरिका साग, एसियन र ओलम्पिक खेल खेल्ने खेलाडीलाई प्रदेश सरकारको संयोजनमा निःशुल्क स्वास्थ्य उपचारको घोषणा गरेकोमा निकै खुसी लागेको बताउँछिन् । 

२८ वर्षीया अप्सरा १७ वर्षदेखि निरन्तर संघर्षमा छिन् । महिला भएकै कारण खेल क्षेत्रमा भोग्नुपरेको पीडा त त्यत्ति छैन, तर खेलाडी भएकै कारण करियर बनाउनतिर लागेर विवाह गर्नेबारे भने सोच्न सकेकी छैनन् । त्यसो त तालिम र तयारीले घर परिवारसँग बस्न एकदमै कम समय मात्र बच्ने गरेको छ । तथापि खेलमा जीवन देख्ने अप्सराले देशलाई मेडल दिँदै गर्दा देशले उनलाई दिने सम्मान पनि सानो हुनुहँुदैन । उनीहरुले निराशा पाए सिनियरहरुले नै तेक्वान्दो नै नखेल भन्ने अवस्था नआओस् । सफलताको चरम चुलीमा पुग्न अप्सरालाई शुभकामना ।