इटहरीः भोजपुरको हसनपुरका १९ वर्षीय चित्रकुमार मग्रातीको हत्या गरी नौ वर्षअघि फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगाका गम्भीरबहादुर दनुवार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुुसार २०७१ साल मङसिर १ गते भोजपुर हसनपुरका १९ वर्षीय किशोर चित्रकुमार, उदयपुर त्रियुगाका गम्भीरबहादुर र संखुवासभा फाकुका विक्रम राई वनभोज (पिकनिक) खान भनी धरान २० मा पुगेकोमा आपसी विवाद भई दुई साथीको कुटपिटबाट चित्रकुमारको मृत्यु भएको थियो ।

उनको हत्यामा संलग्नमध्ये विक्रमलाई २०७१ मङसिर १४ गते नै भोजपुरको दिङ्लाबाट पक्राउ गरी अनुसन्धानपश्चात् सुनसरी जिल्ला अदालतमा पेश गरिएको र पुस ८ गते पुर्पक्षका लागि कारागार चलान गरिएकोमा गम्भीरबहादुर भने फरार भएका थिए । २० वर्षको जेल सजाय पाएका गम्भीरबहादुरलाई असार १० गते काठमाडौँको बानियाटारबाट पक्राउ गरेको एसपी थापाले जानकारी दिए । उनलाई कैद भुक्तानका लागि झुम्का कारगार चलान गरिएको थापाले बताए ।