इटहरीः सुनसरीको सदरमुकामका रुपमा रहेको इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि अनुमानित ७४ करोड बराबरको बजेट पेस गरेको छ ।

नगरपालिकाकी उपमेयर विनिताकुमारी मेहताद्वारा शुक्रबार प्रस्तुत गरिएको बजेटमा प्राथमिकतामा ६ बुँदा समावेश गरिएको छ । जसमा शैक्षिक क्षेत्रलाई गुणस्तरीय एवं प्रविधिमैत्री बनाइने, नगर क्षेत्रको आधारभूत पूर्वाधार निर्माण गरिने, फोहोरमैला व्यवस्थापन, प्रकोप न्यूनीकरण तथा वातावरण संरक्षणलाई जोड दिइने उल्लेख छ ।

सार्वजनिक गरिएको वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरको अनुमानित वार्षिक बजेट ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रुपैयाँ रहेको छ ।

वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मेहताले नगरको समुन्नत विकासतर्फ लक्षित योजना तथा कार्यक्रम बजेटमा समावेश गरिएको बताएकी थिइन् ।

289171374_353315430260919_5233796157023943118_n

नगरपालिकाले व्यावसायिक कृषि, पशुपालन तथा आय आर्जनका कृयाकलाप विस्तार गरिने, संस्थागत क्षमता अभिवृद्धिका लागि जनशक्ति विकास तथा सेवा प्रवाहका लागि आधारभूत पूर्वाधार निर्माण गर्ने र मापदण्ड अनुसारको भौतिक पूर्वाधार विकास र नीतिगत सुधारमा ध्यान दिइने विषय नगरको प्राथमिकतामा समेटिएको छ ।

व्यापारिक, कृषिजन्य तथा पर्यटकीय क्षेत्रलाई सुदृढ र व्यवस्थित गरी आर्थिक कृयाकलाप विस्तार गर्ने उद्देश्य बोकेको इनरुवाले २०७९।८०को नीति तथा कार्यक्रममा गौरवको आयोजनाका रुपमा इनरुवा १ मा रहेको शिव मन्दिर र इनरुवा २ को दुर्गा मन्दिरलाई समावेश गरेको छ ।

यसैगरी उपप्रमुख शैक्षिक प्रोत्साहन कार्यक्रमलाई समेत नगरको गौरवको आयोजनाको नाम दिइएको छ । सो कार्यक्रमअन्र्तगत लक्षित वर्ग र समूदायका १० कक्षा उत्तीर्ण छात्राहरुलाई प्रोत्साहनबापत साइकल उपलब्ध गराइने बताइएको छ भने नगरप्रमुख छात्रवृत्ति कार्यक्रमअनुसार विपन्न वर्गका विद्यार्थीलाई चिकित्साशास्त्र र इन्जिनियरिङ अध्ययनमा सहयोग गर्ने कार्यक्रमसमेत अघि सारिएको छ  ।

सहज स्वास्थ्य, सहज उपचार, मातृशिशु कार्यक्रम, दीर्घरोगीलाई घरमै औषधिजस्ता कार्यक्रमलाई अघि बढाइने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

अपाङ्गता, वैदेशिक रोजगारमा जाने युवालक्षित कार्यक्रम, साक्षरता कार्यक्रम, स्थानीय तहमा रोजगारीका अवसरको खोजी र निःशुल्क शव वाहनको व्यवस्थाजस्ता कार्यक्रमलाई नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेको छ ।

वार्षिक नीति तथा कार्यक्रममा खुल्ला जिमखाना सञ्चालनमा ल्याइने, बजार तथा कार्यालयलक्षित सीसी क्यामेरा जडान, सार्वजनिक स्थानमा फ्रि वाइफाइ जडान, इनरुवा ४ मा रहेको कृषि थोक बजारमा आधुनिक संरचना निर्माण गरी प्रदेशकै नमूना बनाइनेजस्ता कार्यक्रमलाई समेत नगरले वार्षिक योजनामा समेटेको छ ।

वार्षिक कार्यक्रममा व्यापारिक करमा छुट दिइने, रात्रिकालीन बजारको व्यवस्था मिलाइने, हरित नगरको निर्माण, उचित पार्किङजस्ता योजना तथा कार्यक्रम समावेश रहेको छ ।