विराटनगर/ विद्युत महसुल नबुझाउने ठूलो लगानीका निजी उद्योगहरूलाई नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले कालो सूचीमा राखेको छ ।
औद्योगिक फिडर र गार्हस्थ फिडरबाट विद्युत आपूर्ति गराउँदै आएका ग्राहकहरूले लामो समयसम्म महसुल नबुझाएपछि प्राधिकरणले कालोसूचीमा राखेको हो ।
नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र मातहत विद्युत जडान गरेका १ हजार ३ सय ७५ जना ग्राहक कालोसूचीमा सूचीकृत भएका छन् । वितरण केन्द्र आर्थिक शाखा प्रमुख सञ्जय श्रेष्ठका अनुसार ३ करोड ३ लाख ९६ हजार ८ सय ३२ रुपैयाँ विद्युत महसुल यी ग्राहकको नाममा बक्यौता देखिन्छ ।
निजी लगानीका ठूला उद्योगहरूमध्ये स्वदेशी केवलको नाममा ९ लाख २७ हजार ४ सय ९८ रुपैयाँ महसुल बक्यौता देखिन्छ । यसैगरी, जगदम्बा फुटवेयरले ५ लाख २९ हजार, कोशी पोलिप्लाष्टिक उद्योगले ४ लाख ८५ हजार रकम प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता देखिएको छ ।
लेखा अधिकृत श्रेष्ठका अनुसार आर्यता प्लाष्टिक मिलले ४ लाख ८८ हजार ६ सय १३ रुपैयाँ, रबिन प्लाष्टिक उद्योगले ४ लाख ११ हजार, चन्दासेश धाडेवालले २ लाख, आइसवयर एक्सपोर्टले ४ लाख ६८ हजार ४ सय २ रुपैयाँ महसुल बुझाउन बाँकी देखिएको छ ।
महसुल नबुझाएका यी ग्राहकलाई कालो सूचीमा राखेर सरकारी सुविधा लिनबाट वञ्चित गराउने तयारी प्राधिकरणले थालेको छ । वितरण केन्द्रका प्रमुख राजु श्रेष्ठले महसुल असुल हुन नसकेका उपभोक्ताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
त्यसपछि उनीहरूको बैंक खाता, उद्योग नवीकरण तथा कर फछ्र्योटको काम रोक्का गर्न पत्राचार गरिने छ । कालो सूचीमा परेका उपभोक्ता तथा उद्योगीको बिजुलीको लाइन बिच्छेद गरिसकेको प्रमुख श्रेष्ठको दाबी छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा विद्युत महसुल नबुझाउने ७ सय ५५ जना ग्राहकको लाइन काटेर महसुल असुल गरिएको थियो । लाइन काटेर असुल गरिएको महसुल मात्रै २ करोड १८ लाख ८ हजार २ सय रुपैयाँ रहेको वितरण शाखाका आय प्रमुख युवराज घिमिरेले जानकारी दिए ।
विद्युत प्रयोग गर्ने ग्राहकले दुई महिनासम्म पनि महसुल नबुझाएमा प्राधिकरणले यस्तो महसुललाई बक्यौतामा राख्छ । त्यसपछि लाइन काट्ने गरेको छ । लाइन कटेको ६ महिनासम्म पनि ग्राहकले महसुल नबुझाएमा उनीहरूलाई कालोसूचीमा राखेर उनीहरूको कारोबार रोक्काको प्रक्रिया शुरु गर्ने गरिएको छ ।
विराटनगर वितरण केन्द्रले विराटनगर महानगरपालिका, बुढीगंगा, ग्रामथान र जहदा गाउँपालिकामा ६२ हजार घरधुरीलाई विद्युत आपूर्ति गराउँदै आएको छ । वितरण केन्द्रले आफ्ना ग्राहकबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा २८ करोड ३१ लाख ७ हजार ९ सय ८७ रुपैयाँ महसुल संकलन गरेको जनाएको छ ।