बाक्सिला(खोटाङ्ग)ः खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा आयोजना भएको प्रदेश १ को जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा सुनसरी प्रथम भएको छ ।

प्रदेश १ खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङ्गको संयोजनमा भएको प्रतियोगितामा सुनसरी जिल्लाले सबैभन्दा बढी ४ वटा गोल्ड मेडल र महिला तर्फ उत्कृष्ट खेलाडी सहित पहिलो बनेको हो ।

प्रदेश १ भरीका १४ वटा जिल्लाका तेक्वान्दो खेलाडीहरुको सहभागीतामा भएको तेक्वान्दो प्रतियोगितामा दोस्रो स्थान मोरङ्गले लिएको छ भने तेस्रोमा उदयपुर आएको छ ।

२ दिन सम्म चलेको खेलको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी निवर्तमान जिल्ला खेलकुद विकास समिति खोटाङ्गका अध्यक्ष तथा युवा नेता माइतीराज राईले केपिलासगढी वातावरणको हिसावले राम्रो र हावापानी पनि उत्कृष्ठ भएकोले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना स्थलको रुपमा छनौट भएको बताए ।

‘राजन राई मन्त्री भएको कारण तेक्वान्दो प्रतियोगिता खोटाङ्गको केपिलासगढी गाउँपालिकामा भयो भन्ने भ्रम छ ,राजन राईको स्थानीय पालिका भएको कारणले मात्रै यहाँ प्रतियोगिता भएको होइन हामी हरेक हिसावले प्रतियोगिताको लागि राम्रो स्थल हौँ ।’ राईले भने ।

राष्ट्रलाई देश विदेशमा चिनाउने एउटैमात्र विद्या खेलकुद भएकाले हरेक स्थानीय सरकारले खेलकुदका क्षेत्रमा लगानी बढाउनुपर्ने भनाई राखेका थिए ।

‘तेक्वान्दो खोटाङ्गमै मात्र खेलिन्छ भन्ने भ्रम थियो त्यो पनि अव प्रदेश भरीका खेलाडी आएर खेलेपछि प्रदेशभरी खेलिन्छ भन्ने महशुस यहाँका खेलाडी तथा स्थानीयलाई भएको छ । ’ राईले थपे ।

खेलकुदले समाजमा भएका ध्रुविकरणहरुको अन्त्य गर्ने प्रमुख अतिथी तथा नेकपा एकिकृत समाजवादी पार्टीका नेता समेत रहेका राईको भनाई थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथी तथा प्रदेश एक तेक्वान्दो संघका अध्यक्ष शैलेश कुमार बिष्टले प्रदेशको खेलकुद विकास बोर्डमा नयाँ सदस्य सचिव सहितको टोली आएपछि खेलकुद क्षेत्र जुर्मुराएको बताए ।

‘अव प्रत्येक घरमा खेलाडी उत्पादन हुनुपर्छ हामी एक घर एक खेलाडी, एक प्रशिक्षक एक मेडल भन्ने नाराका साथ अघि बढिरहेका छौँ ।’ प्रदेश एकको खेलकुद विकास बोर्डका सदस्य समेत रहेका बिष्टले भने ।

आगामी असोज र कार्तिक महिनामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशले गतिलो तयारी गरेर उपस्थिती जनाउनु पर्ने बिष्टले बताए ।

कार्यक्रममा तेक्वान्दोका केन्द्रिय प्रतिनिधि अर्जुनभक्त राईले समेत मन्तव्य व्यक्त गरेका थिए । समापन कार्यक्रममा केपिलासगढी गाउँपालिकाका वडा नम्बर ४ का वडाअध्यक्ष खड्ग तामाङ्ग, प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री राजन राईका स्वकीय सचिव पवन श्रेष्ठ , नेकपा माओवादी केन्द्र केपिलासगढी गाउँपालिकाकी सहइन्चार्ज वन्दना तामाङ्ग लगायतको उपस्थिती रहेको थियो ।

दिलिप तामाङ्गले सञ्चालन गरेको कार्यक्रम जिल्ला खेलकुद विकास समिति खोटाङ्गका अध्यक्ष सुमन राईको सभापतित्वमा सम्पन्न भएको थियो ।