धरानः देशभरका निर्वाचित मेयर तथा उपमेयर लगायतका जनप्रतिनिधिहरु विजयको खुसियाली र धन्यवाद सभामा व्यस्त भएको बेला धरान उपमहानगरका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई भने फिल्डमा उत्रिएका छन् ।

धराने जनतालाई जसरी पनि खानेपानी दिलाउने संकल्पका साथ चुनावी अभियानमा होमिएका साम्पाङ्ग बुधबारै धरानको खानेपानी मुहानमा पुगेर त्यहाँको निरिक्षण गरेका छन् ।

काकाकुल धरानेको प्यास मेटाउने अठोट लिएका साम्पाङ्गले कार्यभार सम्हाल्दै गर्दा मंगलबार पनि आफ्नो पहिलो प्राथमिकता धरानको खानेपानी नै भएको बताएका थिए ।

आफुले प्राथमिकता राखेको क्षेत्रमा कार्यभार सम्हालेको भोलीपल्टै नव निर्वाचित मेयर राई खानेपानीको मुहानमा पुगेका हुन । खानेपानीको मुहान सर्दु खोला र तामाखाम खोलाको पानी जम्मा गरी खानेपानीको समस्या समाधान गर्न खानेपानी बोर्डलाई निर्देशित गरिएको छ ।

पानीको चरम हाहाकारलाई समाधान गर्न फिल्डमा खानेपानी मुहान अवलोकन गर्न पुगेका छन्। साम्पाङले आज बुधबार खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउन र फोहोर गर्न नदिने निर्देशन दिएका छन् ।

मेयर लगायतको टोलीले खानेपानीको मुहानमा सरसफाई समेत गरेको थियो । मेयर राईले धरान खानेपानी विकास बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेललाई खानेपानीको चुहावट रोकी पर्याप्त वितरण गर्न निर्देशन दिएको बताइएको छ ।