इटहरीः सुनसरीको इटहरीमा रहेको एपेक्स हस्पिटलको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै शुक्रबार रातभर मृतकका आफन्तले नारावाजी गरेका छन् ।

डाक्टरको लापरबाहीले आफ्नो बिरामीको मृत्यु भएको भन्दै पिडित परिवार आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार सुन्दरहरैँचाको गछियाका २६ बर्षिय जोनसोन राईलाई उपचारका लागि एपेक्समा ल्याइएको थियो ।

सामान्य अवस्था पेट दुखेर उपचारको लागि ल्याइएको बिरामीलाई उपचारमा लापर्वाही गरेकोले मृत्यु भएको आफन्तहरूले आरोप लगाउदै अस्पताल बाहिर नारावाजी गरेका थिए ।

पेट दुख्यो भनि अस्पताल भर्ना गरिएको जोनसोनलाई चिकित्सकहरूले सुइ माथि सुइ थपिदिएको र क्षणभरमै शारिरिक रंग बदलिएर बिरामीको अवस्था गम्भिर भइ मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

आन्दोलनरत पक्षसँग राती नै क्षतिपुर्ति वापत ५ लाख रुपैँया हस्पिटलले दिने सहमति भएपछि मृतकका परिवारले शव बुझेका छन् ।

घटनाको बारेमा एपेक्स हस्पिटलका अध्यक्ष राजेन्द्र पोखरेलले रक्सि खाएर कलेजो विग्रिसकेको बिरामी भएकाले उपचारमा कठिनाई भएको रिपोर्टले देखाएको बताए । उनले तुरुन्त रिफर गर्नुपर्ने बिरामीलाई ठिक गर्न सकिन्छ भनेर उपचार गर्न खोज्दा बिरामीको ज्यान गएको पोखरेलले प्रदेश पोर्टललाई बताए ।

बिरामीको मृत्यु भएपछि रातीनै मृतकका परिवारबिच छलफल गरेर छानविन गरौँ भन्ने भनाई आफुले राखेको भएतापनि पिडितले नमान्दा क्षतिपुर्ति वापतको रकम दिने सहमतिमा शव बुझिएको पोखरेलले बताएका छन् । नियमित मादकपदार्थ सेवन गरेर बिरामीको किड्नी नै ड्यामेज हुने अवस्थामा रहेको र कलेजो खराव भइसकेको कारण उपचार हुन नसकी बिरामीको मृत्यु भएको एपेक्स हस्पिटल प्रशासनले बताएको छ ।

गत चैत्र महिनामा पनि सोही अस्पतालमा उपचारको क्रममा इटहरी २ का ३ वर्षिय बालक सन्देश साहको मृत्यु भएको थियो । बालकलाइ चाहिने भन्दा बढी डोजका इन्जेक्सन लगाइएपछि मृत्यु भएको भन्दै आफन्तहरूले अस्पताल नै तोडफोड गरेका थिए । २ दिन सक्म चलेको आन्दोलनमा पिडितलाई क्षतिपुर्ती र काजक्रिया खर्च दिने सहमतिमा आन्दोलन रोकिएको थियो ।