हेमसागर तिम्सिना ( सुमेरु )

कुरो नबङ्याइकन , धेरै लम्बेतान चौडा चौतारा गफ नचुटिकन भन्ने हो भने यो समाजवाद भन्ने पाँच गेडा अक्षरको रटान ,घोकान , बखान र यसबारेको अनेकौं आफ्नै शैलीको व्याख्या गर्ने उट्पट्याङ बाट नेपाली माटोले निकै चोटि संघर्ष गरेको छ आसु र पसिनाको सागर तरेको छ । फेरी पनि आज पनि र यसबेला नेपाली थलचर यही पाँच गेडा अक्षरले निर्मित समाजवादको शब्दरुपी गुन्जयमानले तरंगित भएको छ रोमान्चित बनेको छ हामी नेपाली लोकजन यो गुञ्जित शब्दरुपी गुञ्जयमान मा चकित बनेर यसरी टोलाएका छौं यसरी लट्ठिएका छौं मानौं जादुगरको चटक हेरेर ट्वाल्ल परेको दर्शक दिर्घा मनुष्य जस्ता।

 भर्खरै नेपालीथलमा नेपालको लोकका लोकतान्त्रिक राजनैतिक पार्टीहरुका तूफानी बेगका राष्ट्रिय सम्मेलनले यस्तो वातावरण निर्माण भएको पाइन्छ । नेकाको सम्मेलनलाई हेरियो विपीको समाजवाद बिपीले जन्माउनु भएको र कल्पीनु भएको समाजवाद भन्दै यसैको नारा रुपी बग्गी सवार गरेर गगन विश्वप्रकाश शशांक जस्ता उदयीमान नेपाली राजनीतिका चरचित पात्रले बाजी मारेका छन् । जसले समाजवादी नाराको घन्काई मा बलै पुगेको छ उसैगरी बगरमा एकदिन पुगेर छाड्ने प्रतिगमनका नभ अवतरित ओली नामको पार्टीले पनि नारायणी बगरमा पिकनिकको झल्को मेटाउने गरी सम्मेलन सकेको छ जहाँ नव स्वघोषित भजमने झुण्ड का यी तीनै अध्यक्ष केपी ओलीले पनि समाजवादको नारा घन्काएर नेपाली माटोमा समाजवादी शब्द गुञ्जयमान गर्न टेवा नै प्रदान गरे । अर्कोतर्फ ’ न भूतो न भविष्यति ’ भएका बाबुराम उपेन्द्र अशोक हरुले त शिरैमा समाजवादको पगरी गुथेर हिँडेपछि मधेसतिर पनि यसको स्वरले कर्कशता प्राप्त गरेको छ भने । ओलीको दमन र श्री तिन शैलीका हुकुमी चालचलनबाट मन खिन्न पार्दै बुढेसकालमा नवदल निर्माणमा लागेका माकुने कमरेडको समाजवादी जलजलाले ’ टिकटक ’ समेत तताएको छ भने नेपाली भुमण्डलको कण कण उचालिएको छ ।

झन माओवादीहरुले आफ्नै सन्तती भनेर समाजवाद को विगतदेखि कैले मधुरो त कहिले उच्च स्वरमा घन्काउने समाजवादी लयतालको मादलले उसै मलजल गरेर नेपालिथलो ’ समाजवाद ’ शब्द गुञ्जयमानले गुञ्जित छ, तरंगित छ अनि रोमाञ्चित छ । हुँदा या खादो ’ गाईधारी’ चीन्हको राजतन्त्र गनाउने राप्रपाले समेत उदारवादी समाजवाद भनेर लिङ्देनको पोल्टामा अध्यक्षता सुम्पेको छ । केहि पुराना पार्टी केही पुराना नेताका नयाँ पार्टी र केही नयाँ नेताको नयाँ व्याख्या तथा समीक्षाको लेख आलेख भाषण अनि संविधानको प्रस्तावनामै समाजवादको शब्द टासिनाले यो माटो भरि समाजवादको नारा लाई यसरी गुन्जाएको छ जसरी गुन्जिनछन् प्रत्येक बिहान मन्दिरमा भजन, मस्जिदमा नमाज , चर्चमा प्रेस र आगनिमा कुखुरि कां । हो यो बेला हामि सामान्य जिविका चलाएर बसेका भुई मान्छेहरुलाई पनि छक्क लागेको छ के हो त समाजवाद? सारा तिरु यसैको शब्द गुञ्जित छ यसै शब्दको झण्डा, तुल, ब्यानरहरु रंगीचंगी छ, मानौं नेपाल राष्ट्र समाजवादीहरू बस्ने मान्छेहरूको मात्र राष्ट्र हो । रुख , घाम , हसिया हथौडा ,कलम ,छाता ,मसाल यहाँ सम्मकी गाई गोरू हलो सबैले भन्न थालेका छन् ’ समाजवाद’ नै भलो । यो भएको के हो ? भनेर हामी जनसमुदायले एकछिन घोत्लिने बेला आएको छ।

 हामीले पढेका र सुनेका कुरामा मानवता सभ्यताको विकासक्रम संगै दासयुग हुँदै क्रमशः कृषियुग , औधोगिक युग र पुँजीवादको युगबाट साम्राज्यवादको युगमा आएर यो पृथ्वीमा एकदिन समाजवाद को युग आउनेछ । मार्क्सवादको मोटामोटा ठेलीहरू पल्टाउँदा यही पाउँछौ । नेपालकै राजनैतिक पार्टीका दुब्ला राजनैतिक प्रस्ताव तथा प्रतिवेदन मा पनि यही कुरो भेट्छौ तर कसले भनेको समाजवाद कस्तो खाले ? कसले कुन समाजवाद ल्याउने हो वा क्रमशः मानव सभ्यताको विकासक्रमसँगै आउने भनिएको समाजवादमा पुग्ने बेला आएकै हो ? यो एउटा यक्ष राजनैतिक तथा सामाजिक प्रश्न हाम्रो सामु उभिएको छ । यो प्रश्नको उत्तर दिने बेला आएको छ, यो प्रश्नको साचो अर्थ बुझाउने बेला आएको छ। खासगरी विश्व अर्थ व्यवस्था जब औद्योगिक पुँजीवाद हुँदै भूमण्डलीकृत वित्तीय साम्राज्यवाद मा रुपान्तरित भयो र जसले विश्वको पुजिको संकेन्द्रीकरण गर्दै वर्गीय खाडल को व्यापक सिर्जना गराएको छ त्यसबेला यो समाजवाद शब्दको जयजयकारी गुञ्जनले नेपाली जनमन सारै तनावग्रस्त भएको छ ।

FB_IMG_1640881072538

 तनावग्रस्त यस अर्थले भएको छ यता जाऊँ समाजवादी उता जाउ समाजवादी । नेकामा वीपीको समाजवादी समूह , केपिमा मदन भण्डारीलाई देखाएर भजाउने र लुट्ने मनोवृत्तिकि खै कुन खाले समाजवाद , माओवादीको कालमार्क्सलाई नै फेल गराउने खालको बखानि समाजवाद, रा प्र पा को ’गाउँ खाने’ की गाई खाने समाजवाद , डा. बाबुराम, उपेन्द्र , अशोकको छाते समाजवाद । यस्ता आफ्ना–आफ्ना डम्फु का ताल मा नाचेको समाजवादका रनभुल्लमा माकुने कमरेड को झन् अगाडि चार अक्षर थपेर बनाइएको नौ अक्षरे “एकिकृत समाजवाद “ । हरे आपत हामी लोकजनलाइ चाहिएको समाजवाद यो मध्य कुन हो ? आफ्नै मनको तरंगमा यो प्रश्न उठ्छ । वास्तवमा ’समाजवाद’ उद्विकासवादी दृष्टिकोणले क्रमशः पुजिवाद हुँदै पुजिवाद भित्रको वर्गसंघर्ष ले आफै आउने वा जन्माउने व्यवस्था हो वा संघर्ष गरेर ल्याउने व्यवस्था हो ? प्रश्न यहाँनेर पनि छ समाजवाद आएपछि के के हुने हो र के के हुने छैनन् अथवा के के गर्न पाइने हो के के गर्न पाइने होइन भनेर स्पष्ट व्याख्या कसले कहिले र कसरी गर्ने भन्ने बारे चरम जिज्ञासामा हामी छौं । खैर जे भए पनि सबैले भनेको , सबैले रुचाएको समाजवाद ठिकै होला भन्ने हामी सामान्य मनले ठानेको यहि छ । एक त लेख पढ्ने रुचि आजकाल कसैमा नभएको बेला कलमको बिर्को लगाउनु अघि सोझा र सिधा सरल मनहरुले कल्पेको समाजवाद भने यहि हो कि प्रगतिशील, द्वन्दात्मक भौतिकवादी आलोकबाट नवउदयी समाजवाद नै नेपालको समाजवादी यात्रा हो मूल कार्यदिशा हो । यसरी समाजवाद भन्ने शब्द आजभोलि जनजिब्रोमा लठ्ठिएको बेला ’मुखे पण्डितायम ’ गर्नुभन्दा विश्व परिवेश, आन्तरिक वस्तुस्थिति, अर्थतन्त्रको समीक्षा र सही विश्लेषण गरेर क्रान्तिकारी रुपान्तरण सहित युगान्तकारी नयाँ व्यवस्था को रुपमा समाजवाद को सहि जग बसाई हाल्न ढिला गर्नुहुँदैन ।

FB_IMG_1640881041229

सिंगो मानव चोला लाई सताएको पुजीवादी राज्यव्यवस्था माथि निर्णायक प्रहार गर्ने र सच्चा जनप्रेमी पुँजी रचनाकार हरु को रक्षा समेत गर्दै सचेततापूर्वक समाजवाद तर्फको संक्रमित बेलामा एउटा क्रान्तिकारी समाजवादी अग्रदस्ता यो भु–लोक लाई दिन सगरमाथाको काख बाट राम्रो अवसर बनेको छ । बेलैमा यसबारे सबैमा चेतना भएको राम्रो । खासगरी हामी भुई मुन्छेहरु त खासै बिग्रेका छैनौं हाम्रा टाउके र टाउके भित्रका गिदीमा के फुरी राखेको छ के समाजवाद नारा मात्र हो ? के समाजवाद कल्पना मात्र हो ? कि मानिसले भोग्न पाउने , नेताले जनतालाई दिन सक्ने भौतिक रुपी राजनैतिक व्यवस्था पनि हो ? यो प्रश्नको उत्तर हाम्रा अनेकखाले समाजवादको झण्डा बोकेका टाउकेहरुको टाउकोमा छाडेर यति कुरा चाहिं सत्य हो समाजवाद कल्पना मात्र होइन समाजवाद नारा मात्र होइन , किन किन हामी सदियौँदेखि पेलिएका दुखात्मा मनहरुले यही भन्छ । अहिलेलाई यति ।

                                                                               (लेखक विद्यार्थी नेता हुन् ), इटहरी –५