इटहरीः वैदिक सनातन धर्ममा पुराणको पवित्र अर्थ छ । तर, यस्ता पुराणमा विभिन्न पप, रक र आधुनिक गीतहरूका सङ्गीत र धुन चोरेर भगवानको नाममा उट्पट्याङ भजनहरू गाइन्छ । यस्तो विषयको विरोध समाजका सामान्य नागरिकदेखि वैदिक सनातन धर्मका पक्षपातीहरू स्वयम्ले गर्दै आएका छन् ।

इटहरीमा जारी एक पुराणमा पनि यस्तै भड्किलो भजनको विरोध र मौलिक भजनको पक्षमा फेसबुक वालमा पोस्ट गर्ने एक युवतीमाथि आयोजक संस्था जाइलागेको हो ।

श्री पाथीभरा आमा भक्ति सेवा संस्थाद्वारा इटहरी–८ मा आयोजित पवित्र पुराणमा भजनलाई विकृत रूपमा प्रस्तुत नगर्न सुझाव दिने इटहरी–४ की युवती दुर्गा गौतमको घर पुराण आयोजक संस्थाका सदस्य र समर्थकले घेरेका थिए । आयोजकले गौतमलाई फोनमार्फत् धम्की पनि दिएको थियो । फेरि पुराणको र भोजनको बारेमा स्टाटस पोस्ट गरेमा ठेगान लगाउने भनेर घुमाउरो तरिकाले ‘तँ’ भनी अपशब्द प्रयोग गर्दै थर्काउने प्रयास गरेका थिए । यसरी घरमा १४–१५ जनाको जत्था लिएर घर घेर्न जाने र फोनमा धम्क्याउन पाथीभरा दासी भनिने मनिका कटुवालकाे नेतृत्वले गरेको पीडित युवती गौतम बताउँछिन् ।

यस्तो थियो धम्कीको पृष्ठभूमि
वैदिक सनातन धर्म मान्ने गौतमले भड्किलो भजनको विपक्षमा कात्तिक २७ गते फेसबुक वालमा स्टाटस लेखिन् । उनले ‘आश्चर्य त यो छ कि मन आनन्द हुन्छ भनेर पुराण सुन्न र भजनमा आनन्द लिन पाइन्छ भनेर पुराण लागेको स्थानमा गएको, कुनै पार्टी या डिस्कोमा गएको झै भयो । पन्डित वर्गलाइ अनुरोध– भजनलाई विकृति नबनाइयोस्,’ लेखेकी थिइन् ।
कुनै खास पुराण आयोजक र कुनै व्यक्ति विशेषको नाम नलिई सामान्य आलोचना गरेको पोस्टमा पुराण आयोजक उग्र रूपले प्रस्तुत भएको थियो ।

उनीहरूले २८ गते गौतमको घरमै एक जत्था लिएर गएर धम्की दिएका थिए । कात्तिक २४ गतेदेखि लागेको सो पुराणको आज समापन हुँदैछ ।

‘पण्डित र आयोजकको उक्साहटमा भयो यस्तो तमासा’
सामाजिक सञ्जालको असन्तुष्टिको विषयमा घर घेर्नु र फोनमा पटकपटक धम्की दिनुमा आयोजक संस्था र पुराण वाचकको दोष भएको गौतम बताउँछिन् । उनले भनिन्, ‘पण्डित र आयोजकको उक्साहटमा भयो यस्तो तमासा । मैले पुराण र भजनको होइन भजनको विकृतिको विरोध गरेकी थिएँ ।’

पुराणका बारेमा आएका सामान्य आलोचना सहन नसकी हुल बाँधेर घेर घेर्न लाउने र फोनमा धम्क्याउने काम आयोजक र पण्डितले रोक्न सक्ने भए पनि त्यस्तो नगरेको गौतम बताउँछिन् । उनी भन्छिन्, ‘मैले ठुलै अपराध गरे जत्तिकै गरेर पहिले सामाजिक सञ्जालमै तथानाम गाली गरियो । पछि कमेन्ट हटाइयो । भोलिपल्ट घर घेरेर थर्काइयो र फोन गरेर ‘तँ’ को भाषा प्रयोग गरेर धम्की दिइयो ।’

पुराणको मुख्य वाचकमा कुबेर सुवेदी छन् भने उपवाचकमा महेश भट्टराई छन् । मुख्य वाचक सुवेदी झापाको पाथीभरा एफएममा धार्मिक कार्यक्रम पनि सञ्चालन गर्छन् । आयोजक संस्थाको पुराण आयोजक कमिटीको संयोजकमा दीपा राई छिन भने अन्य मुख्य आयोजकहरूमा क्रमशः कैलाश चापागार्इं, मनिका कटु्वाल उर्फ पाथिभरा दासी र नवल रिजाल रहेका छन् ।

मैले उक्साहट गरेको छैनः पण्डित सुवेदी
गौतमले पण्डित र आयोजकको उक्साहटमा आफूमाथि धम्की आएको र घर घेराउ गरेको भनी लगाएको आरोप प्रमुख वाचक तथा पण्डित कुबेर सुवेदीले अस्वीकार गरेका छन् । पुराणको विपक्षमा सामाजिक सञ्जालमा पोस्ट आएपछि बाध्य भएर घरमा आयोजकहरू पुगेको सुवेदीले बताए । उनले भने, ‘यसमा मैले उक्साहट गरेको छैन ।’

यता फोनमा धम्की दिने र घर घेर्न नेतृत्व गर्ने पुराण अयोजक संस्थाकी संस्थापक पाथीभरा दासीसँग भने फोन सम्पर्क हुन सकेन । प्रदेश पोर्टलबाट पटकपटक फोन सम्पर्क गर्दा पनि उनको फोन उठेन ।

सुन्नुहोस् फोनमा दिइएको धम्कीको अडियो ।