बेलबारीः पार्किङमा रहेको सफारी चालकको अनुमतिबिना सफारी चलाउने क्रममा ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

बेलबारी – ७ मा बाटोको छेउमा रोकिरहेको मे १ ह १९१५ नम्बरको सफारी मादक पदार्थ सेवन गरेका इन्द्रबहादुर श्रेष्ठले चलाउने क्रममा दुर्घटना भएको थियो । सवारी धनी तथा चालक सुजन राई सडक छेउमा सफारी रोेकेर आफन्तसँग कुराकानी गर्दै गरेको समयमा राईसँग अनुमति नलिई श्रेष्ठले सफारी चलाएका थिए ।

श्रेष्ठले चलाएको सफारीको ठक्करबाट ४५ वर्षीया कमला कार्कीेको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार श्रेष्ठले आँगन छेउ सडकमा बसेकी कार्कीलाई ठक्कर दिएका थिए । ठक्करपछि घाइते भएकी कार्कीको गोल्डेन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । सफारी चालक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठले मादक पदार्थ सेवन गरी सफारी चलाएका कारण सो घटना भएको प्रहरीले जनाएको छ ।