इटहरीः लक्ष्मी पूजाको दिन इटहरीको मुख्य चोकमा ठूलो आगलागी भयो । आगलागीको जानकारी आए लगत्तै इटहरी उपमहानगरपालिकामा कार्यरत फायरमेन देवराज चौधरी साधारण टिसर्ट लगाएरै आगो निभाउन पुगे ।

२० वर्ष अघिदेखि फायरमेनको जागिर खाएका हरि न्यौपाने पनि साधारण कपडा लगाएर नै आगो निभाउन निस्किन्छन् । सीमित स्रोत साधनमा समयमै घटनास्थलमा पुगेर आगो निभाउने दमकलका कर्मचारीहरूलाई बाध्यता रहेको छ ।

’कहिले हात कहिले खुट्टा कहिले कता कहिले कता आगोले पोलिरहन्छ’ दमकल शाखाका एक कर्मचारीले भने, ’प्राय आगो निभाउन गएको बेला एक न एक जना कर्मचारीलाई आगोले पोलेकै हुन्छ ।’

इटहरी उपमहानगरका २ वटा दमकलमा ७÷८ जना कर्मचारीहरू काम गर्दछन् । सीमित स्रोतको प्रयोगले मात्र जनताको घर, जिउ, ज्यान जोगाउन जाने गर्दछन् । तर सीमित स्रोतको बीचमा काम गर्दै आएका इटहरीका आगलागी नियन्त्रकहरूलाई भने नगरपालिकाले प्राथमिकतामा भने राखेको पाइँदैन ।

agni niyantrak graphic pradesh portal 1

‘कहिलेकाहीँ दनदनी बलेको आगोभित्र पसेर पनि आगो निभाउनु पर्ने अवस्था हुन्छ’, आफूले लगाएको कपडा देखाउँदै चौधरीले भने, ‘अस्ति एउटा आगो लागेर दुलो पर्याे अर्को लगाएको छु । आगोमा छिर्दा ज्याकेट, हेल्मेट, अक्सिजन बोक्ने कुरा ५ वर्ष अघि एउटा संस्थाले दिएको तालिममा मात्र थाहा पाएको हो तर अझैसम्म पनि ती सामान लिएर आगो निभाउन गएको थाहा छैन ।’

इटहरीको दमकल शाखामा सुरक्षाको नाममा एउटा हतौडा, एउटा बेल्चा र एउटा बाल्टी मात्र रहेको छ । ठूलो आगलागीपछि दमकललाई व्यवस्थित बनाउने उद्घोष भने उपमहानगरले गर्न छाडेको छैन ।

कतै ठूलो आगो लागेपछि सम्मानको भावमा प्रशासनले कार्यकक्षमै बोलाएरै दमकल शाखामा केके चाहिन्छ भनेर सोध्ने गरेको दमकल शाखाका एक कर्मचारी बताउँछन् । त्यसबेला आफूले भनेका सबै कुरा एकएक गरेर टिप्ने गरे पनि त्यसपछि समस्या जस्ताको तस्तै रहने गरेको उनी बताउँछन् ।

सधैँ चुस्त, दुरुस्त बनाउनुपर्ने यन्त्र अहिले जेनतेन चलिरहेको छ । काम जोखिमपूर्ण भएकाले अग्नि नियन्त्रकहरूलाई दमकल कार्यालयले ‘फस्ट एड बक्स’ का लागि समेत औषधि व्यवस्था गर्न सकेको छैन ।

सुरक्षाको साधन पनि छैन, बीमा पनि छैन
सरकारी सेवामा प्रवेश गर्ने जो कोहीलाई पनि सरकारले कुनै न कुनै एक प्रकृतिको बीमा गरिदिएको हुन्छ । तर जति बेला जे पनि हुन सक्ने आगलागी नियन्त्रणका प्राविधिकको जोखिम बीमा अनिवार्य हुनुपर्ने हो । तर सामान्य प्रकृतिका कर्मचारीलाई समेत हुने साधारण जीवन बीमा पनि २ वर्षदेखि दमकलका कर्मचारीलाई हुन सकेको छैन ।

आगोका लप्कासँग खेल्ने इटहरीका फायरमेनको उपमहानगर प्रशासनले अझै पनि जोखिम बीमा गरिदिएको छैन । नगरपालिकाभित्रका मात्र होइन पूर्वी नेपालका तराई र आसपासका पहाडी जिल्लासम्म पुगेर सेवा दिने गरेका छन् । तर, करोडौं रकम जोगाइदिने इटहरी दमकलका कर्मचारीको बीमा भने नगरपालिकाले गर्न खासै चासो दिएको देखिँदैन ।
‘काहीँकाहीँ त दमकल छिर्ने बाटो पनि हुँदैन । अगाडि आगो लागेको हुन्छ तर, ठिङ्ग उभिएर मात्र हेर्नुपर्ने अवस्था हुन्छ’, चौधरीले भने धेरै लामो पाइप पनि हुन्न, अन्य प्रविधिको कुरा त के गर्नु अलि लामो पाइप मात्र थप्न पाए पनि आगलागीको क्षति घटाउन सकिन्छ ।’

दमकल मर्मत र सामान खरिदमा भारतको भर
दमकलका आवश्यक सामान बिग्रिँदा वारुणयन्त्र शाखालाई निकै समस्या पर्ने गरेको छ । दमकलको पानी तान्ने पम्प रबरको हुने हँुदा धेरै च्यातिने गरेको छ । एउटा रबर किन्न पनि हरियाणा लगायतका भारतका विभिन्न शहर पुग्नुपर्ने समस्या उपमहानगरमा छ ।

‘एउटा सामान बिग्रेपछि त्यसलाई बनाउन भारतबाटै मानिस र सामान झिकाउनुपर्ने बाध्यता छ । नेपालमा दमकल खरिद गरेर नगरपालिकालाई उपलब्ध गराउने कम्पनीहरूसँग मर्मत केन्द्र नै छैन,’ हालै अवकाश पाएक चालक रामप्रसाद घिमिरे भन्छन्, ‘चालकले माग गर्नेबित्तिकै प्रशासनले खरिद गर्ने आदेश पनि दिँदैन । धेरै दबाब आएपछि मात्र सामान किन्न पठाउँछन् ।’