इटहरी / कम तौलसहित जोखिमपूर्ण अवस्थाको एलपी ग्यास सिलिण्डर बजारमा भेटिएपछि इटहरी उपमहानगरपलिकाले कारवाही गर्ने भएको छ ।
गत जेठ १८ गते इटहरी–९ का उपभोक्ताले खरिद गरेको रिजालको ग्यासको सिलिण्डरमा ३ केजी कम तौल भएको ग्यास सिलिन्डर भेटिएको थियो । त्यसपछि उनले इटहरीको ९ नम्बर वडा कार्यालयमा उजुरी दिएका थिए ।
बिहीबार भएको सर्वपक्षीय भेलाले ग्यास कम्पनीलाई हदै सम्मको कारवाही गर्ने निष्कर्षमा पुुगेको वडाध्यक्ष भुपेन्द्र बरालले जानकारी दिए । उनले भने, ‘हामी उपभोक्ता अधिकारकर्मी, पत्रकार, नागरिक समाज, प्रहरी प्रशासन र उद्योग वाणिज्य संघसँगको लामो छलफल छि कारवाही गर्ने निर्णयमा पुुगेका हौं ।’
इटहरी– ८ का नवराज पोख्रेलले खरिद गरेको ग्यासको सिलिण्डरमा ३ केजी ग्यास कम पाइएको थियो । ग्यासको ओजनमा शंका लागेपछि उनले तौल लिएका थिए । तौल लिंदा ३ केजी कम पाइएको भनी पोख्रेलले पसलमा खबर गरेका थिए । त्यसपछि कम्पनीमा खबर गर्दा पनि कोही पनि जवाफदेही नबनेपछि प्रहरीलाई खबर गरिएको उनले बताए ।
सुनसरी ग्यास बिक्रेता संघका अध्यक्ष डिल्ली चौलागाईले उपभोक्ताको भान्सामा ग्यासका सिलिण्डर पुुगे पनि त्यसको जवाफदेही ग्यास कम्पनीले लिनुुपर्ने भन्दै यस घटनामा कम्पनीले त्रुटि गरेको औँल्याए । उनले भने, ‘रिजालको ग्यासले गल्ती गरेको छ । उपभोक्ताले कमजोरी भएको जानकारी दिएपछि तुरन्त जिम्मेवार भएर प्रतिक्रिया दिनुपथ्र्र्यो ।
चौलागार्इंले बजारमा छरपस्ट हुने ग्यासको बिक्रीलाइ नियमनकारी निकायले व्यवस्थित गर्नुुपर्ने बताए । उनले स्थानीय सरकारसँग अधिक अधिकार र जिम्मेवारी आएको हुँदा पसलैपिच्छे बेचिरहेका जोखिमपूर्ण ग्यासलाई तुरुन्त नियमनको दायरामा ल्याउन सुुझाव दिए ।
नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौडेलले बजारमा उपभोक्ता दिनदिनै ठगिइरहेको भन्दै ग्यास मात्र नौलो नरहेको बताए । उनले जोखिमपूुर्ण अवस्थाका सिलिण्डर बजारमा आएको गुुनासो बढिरहेका बेला ग्यास उद्योगले उपभोक्ताको घरसम्म सुरक्षित तवरले सिलिण्डर पठाउनुुपर्ने बताए । उनले ग्यास सिलिण्डर अनलोड गर्दा असुरक्षित ढंगले काम हुने गरेको भन्दै कम्पनीको ध्यानाकर्षण गराए ।
कम्पनीका प्रतिनिधि रमन चौहानले आइन्दा कम्पनीले यस्तो गल्ती नगर्ने भन्दै ग्यासको लोड र अनलोडलाई सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरे ।