इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत दुई जना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा धरान उपमहानगरपालिका ११ का ९१ वर्षीय पुरुष र धरान ८ की ६७ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार धरान ११ का पुरुषमा असार २२ गते कोरोना संक्रमण पुष्टि भई २४ गते उपचारार्थ प्रतिष्ठानमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको आज बिहान ०१ः१८ बजे ज्यान गएको हो । मृतक पुरुष लामो समयदेखि, मधुमेह तथा मुटु र मृगौलाको गम्भीर रोगबाट पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी, धरान ८ की महिलामा असार १४ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना गरिएकोमा उनको उपचारका क्रममा आज बिहान ०२ः२० बजे ज्यान गएको हो । मृतक महिला लामो समयदेखि मुटु र दमको समस्याबाट पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।