इटहरीः कोसी राजमार्गअन्तर्गत मोरङको बूढीगङ्गा गाउँपालिका–३ स्थित शिवम् प्लाष्टिक उद्योगअगाडिको सडकमा घाइते अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय रामकुमार राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीका अनुसार गएराति करिब १०ः०० बजे घाइते अवस्थामा भेटिएका राजवंशीलाई प्रहरीले उपचारार्थ कोसी अस्पताल पुर्याएको थियो । उनको उपचारका क्रममा राति १०ः५५ बजे ज्यान गएको एसपी जीसीले बताए । सडकको बीच भागमा घाइते अवस्थामा फेला परेका राजवंशीलाई सवारीले ठक्कर दिएको आशंकामा अनुसन्धान गरिरहेको जनाउँदै उनले अनुसन्धानका क्रममा आठ ओटा सवारी साधन नियन्त्रणमा लिइएको उल्लेख गरे । ठक्कर दिने सवारीको पहिचान भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ ।