काठमाडौँः मनसुनपछिको प्राकृतिक विपत्तिमा परेर मुलुकभर ठूलो जनधनको क्षति भएको छ ।

मनसुन सक्रिय भएपछि निरन्तर वर्षा हुँदा बाढी, पहिरो र डुबानमा परेर हालसम्म ५१ जनाको मृत्यु भएको छ । २९ जना हराइरहेका छन् । खोजी जारी राखिएको भए पनि बेपत्ता भएकाहरु भेटिएका छैनन् । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेमा २६ पुरुष, १५ महिला र १० जना बालबालिका छन्। सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन÷तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुई÷दुई र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक÷एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै सात जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार दार्चुलामा तीन, पाल्पामा दुई तथा तनहुँ र दाङमा एक÷एक जनाको मृत्यु भएको हो । बाढीपहिरो र डुबानमा परी मनसुन अवधिको जेठ ३० गतेपछि ७१ जना घाइते भएका छन् ।

तीमध्ये ३६ पुरुष, १९ महिला, ११ जना बालक र पाँच जना बालिका छन् । बाढीपहिरामा परी २९ बेपत्ता भएकामध्ये १९ पुरुष, छ महिला, तीन बालक र एक बालिका रहेका छन् । बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २०, चितवनका तीन, पर्वत र तनहुँका दुई÷दुई तथा बाजुरा र बाग्लुङमा एक÷ एक जना छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए । बाढीपहिरामा परेका एक हजार दुई सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । बाढीको कारण एक हजार पाँच सय १६ घर डुबानमा परेका र पाँच सय ६४ घर, ९९ गोठ, ४२ पुल, तीन विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ। एक हजार एक सय ५८ घरका पाँच हजार चार सय २३ जना विस्थापित भएका छन् । -रासस