बेलबारीः मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औँ नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रा लि संखुवासभाबीच बोअर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते गरेको सम्झौता खारिज गर्ने निर्णय गरेको छ ।

ग्रो अर्गानिक कृषि .प्रा लिले ठेक्काबापत जम्मा गरेको जमानत रमक जफत गरी प्रा लिलाई कालो सूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णयसमेत गरेको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार नगर कार्यापालिका सदस्य विन्दुकला गुरुङको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा नेकपा एमाले, नेपालि कांग्रेस,नेकपा माओवादी केन्द्र र जनतासमाजवादी पार्टीसम्बद्ध जनप्रतिनिधि रहेका छन् । ग्रो अर्गानिक कृषि प्रा लि सखुवासभालाई ठेक्काबापत हालसम्म कुनै प्रकारको रकम भुक्तानी नदिइएको नगरपालिकाले जनाएको छ ।

ठेकेदार कम्पनीले अफ्रिकाबाट आयात गरिएको बोअर बाख्रा भन्दै नवलपरासीको बाख्रा वितरण गरेको थियो । किसानले आपत्ति जनाएपछि भन्सार विभागमा बुझ्दा बाख्रा आयात भएको कुनै अभिलेख फेला नपरेपछि कम्पनीमाथि कारबाही प्रकृया अगाडि बढेको हो ।