इटहरीः तीन जना शिक्षकलाई अनाधिकृत रुपमा निष्कासन गर्ने सुनसरीको धरान उपमहानगरपलिका १५ स्थित के के इन्टरनेसनल विद्यालयका नाममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यालय विराटनगरले निष्कासित सबै शिक्षकहरुलाई तत्काल पुनर्बहाली गर्न आदेश जारी गरेको छ । दर्ता भएको उजुरी दर्ता भएको छ । निजी तथा सँस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सु) ले आफूसँग आबद्ध रहेका शिक्षकहरु निलम चौधरी, पुनमगोविन्द लाखे र सुरज बराललाई के के इन्टरनेसनल विद्यालयले श्रम ऐनविपरीत निष्कासन गरेको भनी दर्ता गराइएको उजुरीउपर सुनुवाइ गर्दै हाजिर गर्न रोक लगाइएको मितिदेखि नै लागु हुनेगरी सबै शिक्षकलाई पुनः हाजिर गराई सोको जानकारी सात दिनभित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यालय विराटनगरलाई गराउन पत्राचार गरिएको उक्त कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।
उनका अनुसार कार्यालयको निर्देशन अटेर गरी शिक्षकलाई हाजिर नगराएमा के के इन्टरनेसनल विद्यालयका नाममा रहेको बैंक खाता रोक्का गर्ने, चलअचल सम्पत्ति रोक्का गर्ने, इजाजतपत्र निलम्बन गर्नेलगायका कडा कारबाही गरिनेछ । प्याब्सु सुनसरीका सचिव रोमनाथ ढुङ्गेलद्वारा हस्ताक्षरित उजुरीमा विद्यालयले निलम चौधरी, पुनमगोविन्द लाखे र सुरज बराललाई श्रम ऐनविपरीत निष्कासन गरिएको उल्लेख छ । प्रचलित कानूनको अधिनमा रही सञ्चालन हुने सर्तमा स्थापित सँस्थाले कानूनविपरीत शिक्षक निष्कासन गरेको भन्दै प्याब्सु सुनरीका अध्यक्ष रोमनाथ ढुङ्गानाले ले अन्यायमा परेका शिक्षकलाई न्याय दिलाइदिन माग गर्दै निवेदन दर्ता गराएका थिए । सोही निवेदनका आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यालय विराटनगरले कारबाही अगाडि बढाएको हो ।