इटहरीः नेपालका सातै प्रदेशका प्रदेश सरकारले आज आफ्नो प्रदेशका लागि आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्य सार्वजनिक गर्दैछन् ।

सबै प्रदेशमा एकै दिन बजेट प्रस्तुत हुनुपर्ने बाध्यकारी कानूनी प्रावधानका आधारमा सातै प्रदेशमा एकैसाथ बजेट प्रस्तुत हुन लागेको हो । यसैबीच, प्रदेश १ को बजेट सार्वजनिक गर्नका लागि आज अपराहन्न ३ः०० बजे प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । आगामी आर्थिक वर्षका लागि करिब ३२ अर्ब रुपैयाँको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ । बजेट वक्तव्य प्रदेश सरकारका आर्थिक मामिला मन्त्री टङ्क आङ्बुहाङले सदनसमक्ष प्रस्तुत गर्ने भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारका विभिन्न मन्त्रालयहरु र सरकारका निकायहरुलाई ३२ अर्बको सीमा भित्र रहेर कार्यक्रमहरु पेस गर्न भनेको थियो ।

सोही अनुसार मन्त्रालयहरुबाट सोमबार साँझसम्म सबै योजनाहरु प्राप्त भएको बताइएको छ । कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधार निर्माणलाई बजेटले प्राथमिकतामा राखेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । गत वर्ष प्रदेश १ मा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन भएकोमा यस वर्ष बजेटको ह्रास आएको हो । आगामी आर्थिक वर्षको बजेट मुख्यमन्त्री शेरधन राईको सक्रियतामा निर्माण भएको हो । प्रदेश १ सरकारको यो बजेट चौथो पूर्ण बजेट हो । यसअघि प्रदेशमा तीन ओटा पूर्ण बजेट र एउटा आंशिक बजेट प्रस्तुत भएको सरकारी तथ्याङ्क छ । गत आइतबार प्रदेशसभाले पारित गरेको नीति तथा कार्यक्रका आधारमा बजेट प्रस्तुत हुन लागेको हो ।