इटहरीः सुनसरीको धरान उपमहानगरपलिका १५ स्थित के के इन्टरनेसनल विद्यालयविरुद्ध शिक्षकलाई अनाधिकृत रुपमा निष्कासन गरेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यालय विराटनगरमा उजुरी दर्ता भएको छ ।
निजी तथा सँस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सु) द्वारा दर्ता गराइएको उजुरीमा सो विद्यालयमाथि आफ्ना तीन जना शिक्षकहरुलाई अनाधिकृत रुपमा निष्कासन गरेको आरोप छ । प्याब्सु सुनसरीका सचिव रोमनाथ ढुङ्गेलद्वारा हस्ताक्षरित उजुरीमा विद्यालयले निलम चौधरी, पुनमगोविन्द लाखे र सुरज बराललाई श्रम ऐनविपरीत निष्कासन गरिएको उल्लेख छ । प्रचलित कानूनको अधिनमा रही सञ्चालन हुने सर्तमा स्थापित सँस्थाले कानूनविपरीत शिक्षक निष्कासन गरेको भन्दै प्याब्सुले अन्यायमा परेका शिक्षकलाई न्याय दिलाइदिन माग गर्दै निवेदन दर्ता गराएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । उजुरीउपर कानूनी कारबाही तत्काल अगाडि बढाइने उनको भनाइ छ ।