इटहरीः पूर्वपश्चिम रेलमार्गअन्तर्गत इनरुवा काकडभिट्टा खण्डको निर्माणले गति लिने भएको छ ।

सो क्षेत्रमा रहेको बाँकी रहेको मुआब्जा वितरणको कार्य सम्पन्न गरी निर्माण सुरु गरिने भएको हो । मुआब्जा वितरणको काम आयोजना निर्माण हुने झापा, मोरङ र सुनसरी जिल्लामा असारसम्म सम्पन्न गरिने भएको छ । त्यसका लागि तीनै जिल्लाको जिल्ला प्रशासन कार्यालयले पहलकदमी लिने भएका छन् । रेलमार्ग निर्माण अगाडि बढाउने प्रकृया सुरु गर्ने विषयमा छलफल गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र रेल विभागका प्रमुखबीच भर्चुअल सम्वादसमेत सम्पन्न भइसकेको छ । बैठकका क्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आफ्नो जिल्लाका ६ पालिकाका १ हजार १६१ बिघा जग्गा रेल क्षेत्रमा पर्ने बताउँदै प्रभावित स्थानीयलाई मुआब्जा वितरणका लागि जग्गा उपसमिति गठन गरिएको जानकारी दिए ।

कोभिड महामारी तथा मुआब्जा विवादका कारण गतवर्ष नै सुरु हुनुपर्ने निर्माण कार्य रोकिन पुगेको उनको कथन थियो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आफ्नो जिल्लामा २३१ बिघा १० कट्ठा जमिन रेलमार्गका कारण प्रभावित हुने बताउँदै मुआब्जा वितरणपछि साउन पहिलो साताबाट निर्माण कार्यले गति लिने जानकारी दिए । यसैगरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सर्वपक्षीय सहमतिमा मुआब्जा विवाद निरुपण गरी निर्माणलाई अगाडि बढाइने बताए । मुआब्जा विवाद समाधान भएका क्षेत्रको पहिचान गरी समाधान नभएका क्षेत्रलाई डिमार्क गर्ने कार्य दुई सातामा सम्पन्न गर्ने लक्ष्य रेल आयोजना कार्यालय दमकले राखेको छ ।